बोक्सीको आरोपमा चिर्पटले हानेर महिलाको हत्या

 

बाँके । बोक्सीको आरोपमा नौबस्ताकी एक महिलाको हत्या गरिएको छ । नौबस्ता–९ तिलकपुरका २१ वर्षीय दिनेश थारूले श्रीमतीलाई बोक्सी लगाएको भन्दै छिमेकी डन्डी थारूलाई चिर्पटले हानेर हत्या गरेका हुन् ।
विवाह गरेको दुई महिनापछि नै कल्पना थारू बिरामी पर्न थालिन् । उपचार गराइन्, तर चार वर्षसम्म पनि निको भएन । उल्टै आँखा कमजोर भई दृष्टि गुम्दै गएपछि कल्पना र उनका पति हैरान भएर गुरुवा धामीझाँक्री कहाँ धाउन थाले । कसैले भनिदियो, ‘यो सबै बोक्सी लागेर भएको हो ।’ बोक्सीको शंकामा दिनेशले गत बुधबार डन्डीको हत्या गरेका हुन् ।
साँझ साढे ८ बजेतिर डन्डी छिमेकी सितरानी थारूको आँगनमा बसेर मकै छोडाइरहेकी थिइन् । एक्कासि पछाडिबाट आएर दिनेशले रोटी पकाउने तावाले हाने । तावाको बिँड फुस्किएपछि उनले ढलेकी डन्डीलाई चिपर्टले हानेर रक्ताम्ये पारे । ‘अँध्यारो थियो, हामी गफ गर्दै मकै छोडाइरहेका थियौं, उसले पछाडिबाट आएर हान्यो र पछि भाग्यो,’ प्रत्येक्षदर्शी सितरानीले भनिन् ।
हल्ला मच्चिएपछि डन्डीका छोरा खुसीराम दौडिँदै आए । उनले हत्तपत्त सर्ट खोलेर आमाको फुटेको टाउको बाँधे । अनि, एम्बुलेन्स बोलाए । ‘दिनभर खेत जोतेर आएर नुहाउँदै थिएँ,’ २६ वर्षीय खुसीरामले भने, ‘दौडिँदै जाँदा त आफ्नै आमा, सास मात्र थियो ।’ अस्पताल पुर्‍याउँदा स्थिति नाजुक थियो । चिकित्सकले तत्कालै लखनउ रिफर गरे । सीमा नाघेर रुपैडिया नपुग्दै उनको मृत्यु भयो ।
हत्यापछि भागेका दिनेशलाई प्रहरीले कैलालीको अत्तरियाबाट पक्राउ गरेको छ । उनी भारत जाँदै थिए । ‘रातारात कैलाली पुगिसकेको रहेछ,’ इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुरेशप्रसाद काफ्लेले भने, ‘मोबाइल लोकेसनका आधारमा त्यहाँ पुगेको पत्ता लाग्यो ।’
अभियुक्त दिनेशले अपराध स्वीकारेका छन् । बोक्सी लागेर आफ्नी पत्नी बिरामी बनाएकाले सिंगो गाउँलाई बचाउन आफूले हत्या गरेको तर्क उनले प्रहरीसँगको बयानमा दिएका छन् । ‘छिमेककै आँगनमा बसेको मौका पाएँ, त्यसैले मार्ने गरी नै हानेको हुँ,’ उनले बयानमा भनेका छन्, ‘बोक्सीलाई मार्दा कुनै पछुतो छैन ।’

भदौ १३ गते ।