गगन थापा मन्त्री बनेकाले अख्तियार प्रमुख कार्कीविरुद्धको प्रस्ताव निष्क्रिय

काठमाडौँ । चिकित्सा शिक्षामा जथाभावी हस्तक्षेप गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखविरुद्ध दर्ता गराइएको सार्वजनिक महत्वको प्रस्ताव कसरी अघि बढाउने भन्नेमा अन्योल देखिएको छ।
उक्त विषयका प्रस्तावक गगन थापा स्वास्थ्यमन्त्री बनेपछि सो सार्वजनिक महत्वको प्रस्तावका समर्थकहरुले त्यस्तै अर्को प्रस्ताव दर्ता गर्ने विषयमा छलफल थालेको जनाएका छन्।
सार्वजनिक महत्वको विषयका प्रस्तावक पूर्ववत भूमिकाबाट अलग भएपछि त्यस्ता प्रस्तावहरु अगाडि नबढ्ने संसदीय अभ्यास छ।
तर सभामुख ओनसरी घर्तीले संसदको प्रस्ताव छनोट समितिले निर्णय गरे आफू उक्त प्रस्तावमाथि छलफल गराउन तयार रहेको बताउनुभएको छ ।
सार्वजनिक महत्वको विषयमाथिको छलफलको प्रस्तावक गगन थापा स्वास्थ्यमन्त्री भएर संसदमा उठेका प्रश्नको जवाफ दिने हैसियतमा पुगेपछि पछिल्लो अन्योल देखिएको हो।
विगतमा यस्ता अवस्थामा त्यस्ता प्रस्तावहरु संसदमा प्रस्तुत गर्न नमिल्ने संसदीय परम्परा रहेकाले हाल उक्त प्रस्ताव निष्क्रिय बन्न पुगेको छ ।
भदौ १३ गते ।