प्रचण्डको महत्वाकांक्षा र कांग्रेसको सत्तालिप्साले ओली सरकार ढालियो : राधाकृष्ण मैनाली

काठमाडौँ । कुनै समय एमालेबाटै कारवाही भोगेर करिब १० वर्षपछि फेरि एमालेमै फर्किनु भएका पुरान कम्युनिष्ट नेता राधाकृष्ण मैनालीलाई केही दिन अघि मात्र पार्टीले जिम्मेवारी दिएको छ । विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्न चाहनेहरुलाई ल्याउनका लागि गठन भएको कमिटीको सदस्य बन्नु भएका मैनालीले त्यसमा धेरै सन्तुष्ट नभएको मैत्रीन्युजलाई जानकारी दिनुभयो । यद्यपि उहाँले इमान्दार कार्यकर्ताका रुपमा भने एमालेमै रहेर काम गर्ने पनि जानकारी दिनुभयो । पछिल्लो राजनीतिक अवस्थाबाट त्यति सन्तुष्ट नहुनु भएका मैनालीले राजनीतिकमा केही समस्या देखिएको पनि दाबी गर्नुभयो । ‘संविधान जारी गर्दा मुख्य तीन दलले निकै आँट गरेका थिए, छिमेकीलाई समेत दनक दिएर जारी गरेको संविधान जारी गर्नु अहिलेको मूख्य जिम्मेवारी हो,’ उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीको सहमति भयो भने संविधान कार्यान्वयन हुन कुनै मुस्किल छैन । उहाँले एमाले नेतृत्वमा सरकार बनेदेखि नै तीन दलबीच खटपट सुरु भएको भन्दै सबै दल मिल्नुको विकल्प नभएको पनि दाबी गर्नुभयो । ‘एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भएपछि त्यसबेला कांग्रेस अलग भयो र खटपट सुरु भयो,’ उहाँले भन्नुभयो, ‘अहिले कांग्रेसले माओवादीलाई राम्रैसँग प्रयोग गर्यो अर्थात प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना पूरा गराउने प्रतिवद्धता जाहेर गरेर ओली सरकार ढल्यो । अब प्रचण्ड प्रधानमन्त्री भैहाले सबै मिलेर संविधान कार्यान्वयनतिर लाग्नुपर्छ । ’
उहाँले ओली नेतृत्वको सरकार ढालेर प्रचण्ड ९ महिनाका लागि लिखित प्रधानमन्त्री बन्नुभएको स्मरण गराउँदै यस्तो प्रचलनले देशको राजनीति असल नहुने प्रष्ट पार्नुभयो । ‘फेरि कांग्रेस सभापति शेरवहादुर देउवाजी प्रधानमन्त्री बन्ने कुरा भएको छ । तर, यी सबै प्रक्रियालाई नजिकबाट निहालेर हेर्दा संविधान कार्यान्वयन नगर्ने वा समयसीमालाई गुजार्ने नियत जस्तो देखिन्छ,’ उहाँले भन्नुभयो, ‘यो नेपालको राजनीतिकै लागि दूर्भाग्य हो ।’ उहाँले अहिले २०७४ माघ ४ सम्ममा जसरी पनि संविधान कार्यान्वयनको चरण पार गर्नुपर्ने अवस्था रहेको भन्दै त्यो समयसीमा गुजार्ने खेल भैरहेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । ‘त्यसो भयो भने दुई वटा अवस्था आउन सक्नछन् । एउटा फेरि व्यवस्थापिका संसदका समय बढाउने वा संविधान कार्यान्वयन नै हुन नदिन,’ उहाँले भन्नुभयो, ‘यी दुबै खेल घातक र राजनीतिलाई बद्नाम बनाउँने हुन् । यसो भयो भने संविधान मन नपराउने देशीविदेशी शक्तिले पनि चलखेल गर्ने मौका पाउने छन् । त्यो झन् घातक हुनेछ ।’ उहाँले प्रधानमन्त्री बन्नै पर्ने प्रचण्डको महत्वकांक्षा र कांग्रेसको सत्तालिप्साले सरकार ढलेको आरोप पनि लगाउनुभयो । उहाँले कांग्रेस र माओवादी दुबै संविधान कार्यान्वयन नहोस भन्नेमा रहेको र उनीहरु दुबैको विचारमा मेल खाएपछि सहमति भएको पनि दाबी गर्नुभयो ।