सांसदहरु एनजीओ र निजी काममा लागेपछि संसद बैठक नै स्थगित, महत्वपूर्ण विधेयकहरु अलपत्र

parliament1
काठमाडौं । जम्बो संसद्मा सांसदहरुले सभामुखको रुलिङ मान्न छाडेपछि बैठक नै स्थगित गर्नुपर्ने घटना पटक पटक दोहोरिन थालेका छन् । शुक्रबार पनि संसद्को बैठक सांसद्हरुको गणपूरक संख्या कोरम नपुगेर स्थगित भयो ।
बैठकमा उच्च अदालत गठनलगायतका विधेयकसहितको महत्वपूर्ण कार्यसूची भए पनि नियमावलीअनुसार आवश्यक पर्ने न्यूनतम संख्या नपुगेपछि सभामुखले दिउँसो १ बजे बैठक अचानक स्थगित गर्नुपर्‍यो। गणपूरक संख्याका लागि १४९ जना सांसद्को उपस्थिति आवश्यक पर्नेमा शुक्रबार संसद्ंमा जम्मा १२६ जना सांसदहरु थिए।
शुक्रबार २४० जना सांसदहरु संसद्‌मा हाजिर गरेर एनजिओको गोष्ठी तथा अन्य निजी काममा बाहिर गएका थिए। संसद्‌मा १२६ जनाको उपस्थिति देखिए पनि ३६६ जना सांसद्ले हाजिरीमा दस्तखत गरेका छन् । पार्क भिलेज रिसोर्टमा एनडीआइले आयोजना गरेको गोष्ठीमा सहभागी हुन संसद् भवनबाटै दुईवटा गाडीमा सांसदहरु बाहिरिएका थिए।
बिहान ११ बजे सुरु भएको बैठकमा शू्न्य समयमा बोल्ने क्रम सकिएपछि नियमित कार्यसूचीमा प्रवेश गर्न लाग्दा गणपूरक संख्या नरहेको प्रश्न उठेको थियो। त्यसपछि सभामुखले संख्या गणना गर्न निर्देशन दिनुभएको थियो । ५९५ संख्या रहेको संसदमा बैठकले कुनै निर्णय लिन वा प्रस्ताव पास गर्नका लागि १४९ सांसद आवश्यक पर्नेमा शुक्रबार गणना गर्दा जम्मा १२६ सांसदहरु उपस्थित थिए । कोरम नपुगेपछि सभामुखले आइतबार सम्मका लागि बैठक स्थगित गर्नुपर्‍यो।

भदौ २४ गते ।