प्रमुख प्रतिपक्षी दललाई खुसी नपारी विदेश चाहरेर मुलुकको समस्या समधान हुँदैन —हिरण्यलाल श्रेष्ठ

 

hiranya

कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले विचित्र गठबन्धन गरेर सरकार बनाउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गर्दा निकै विचार पुर्याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभएको छ ,प्रधानमन्त्री भएपछि पहिला भारत भ्रमण गर्नै पर्ने बाध्यता जस्तो उहाँ प्रधानमन्त्री भएपछि औपचारिक भारत भ्रमणमा जान लाग्नुभएको छ । मलाई गजब लागेको छ । उहाँले परम्परा धान्ने काम गर्नुभएको छ । म भारत वा चीनमा नेपालको प्रधानमन्त्रीले जानु हुँदैन भन्नेमा छैन । छिमेकसँगको सम्वन्धलाई बलियो बनाउनु हुँदैन भन्नेमा पनि छैन । तर, जुन ढंगले प्रधानमन्त्रीले भारत भ्रमणको तयारी गर्नुभएको छ । त्यो त्यति उपयुक्त छ जस्तो मलाई लाग्दैन ।

उहाँले अगाडि भन्नुभयो , वर्तमान राजनीतिक अवस्थालाई हेर्दा निकै विचित्रको देखिएको पहिलो ठूलो दल नेपाली कांग्रेस तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारमा छ । अर्थात पहिलो ठूलो दलले तेस्रो ठूलो दललाई सत्ताको नेतृत्वमा समर्थनसहित पु¥याएको छ । अनि दोस्रो ठूलो दल नेकपा एमाले चाहीँ प्रतिपक्षमा छ । त्यति मात्र होइन निकै लामो समयदेखि आन्दोलन जारी राखेका मधेसवादी दलको समेत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन रहेको छ । प्रचण्डजी अहिले प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ । उहाँ भारत भ्रमणमा जाँदा धेरै कुराको ख्याल गर्नुपर्ने जरुरी छ ।

सबै भन्दा विचित्रको कुरा यहाँ छ । उहाँहरुले पहिला पनि आन्दोलनमा हुनुहुन्थ्यो । फेरि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि उहाँहरु प्रचण्डजीलाई प्रधानमन्त्री बनाउन सदमा आउनु भो, सहभागी हुनुभयो र उहाँलाई प्रधानममन्त्री पनि बनाउनुभयो । अहिले उहाँहरु सत्तापक्ष हो । तर, विचित्र के छ भने अहिले सत्तापक्ष नै आन्दोलनको तयारीमा जुटेको छ । यहाँ भन्दा विचित्र के हुन्छ ? उहाँहरुले त ल संविधान नै संशोधन गर्ने हो भने पनि प्रमुख प्रतिपक्ष र सरकारमा सहभागी नभएका दलहरुसँग पनि सल्लाह गर्नुपर्ने हो । छलफल गर्नुपर्ने हो । कसो गरौँ भन्नु पर्ने हो । खै त्यो त देखिदैन नि ? उहाँ संविधानलाई टेवुल गर्नुको सट्टा आन्दोलन गर्ने भनेर लाग्नुभएको छ ।

परिस्थिति अनुसार जहिले र जहाँ पनि जानुपर्छ । के सम्झौता गर्नुपर्ने हो । किन औपचारिक भ्रमण गर्नुपर्ने हो । त्यो सबै कुरालाई ख्याल गरेर कहिले छिमेक वा छिमेक भन्दा पनि बाहिर पनि भ्रमण पर्न सक्छ । त्यसैले पहिला छिमेकै जानुपर्छ भन्ने केही छैन । उही परम्परा बसाल्न जाने हो भने बेग्दै कुरा । राष्ट्रलाई हित हुने एजेण्डा कोसँग छ त्यहाँ सम्झौता गर्न भ्रमण गर्ने हो । अहिले जुन ढंगले ढोगभेट गर्न जाने परम्परा बनेको छ । त्यो गलत छ । ठीक छैन ।

अहिले नेपाली जनताले राष्ट्रिय नीति चाहेका छन् । पार्टी नीति होइन । प्रचण्डजीले भारत भ्रमण गर्नु अघि सबै दलसँग छलफल गरेर राष्ट्रहितमा हुने कुरा के–के हुन् भनी सल्लाह गर्नुपर्ने हो । तर, त्यो पटक्कै देखिएन । एमाले स्वयम्ले पनि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र नै बुझाएको छ । यसले पनि प्रचण्डजीले छलफल नगरेको पुष्टी हुन्छ । यस्तो भ्रमणमा सबैसँग छलफल गर्नु अपरिहार्य हुन्छ । त्यो उहाँमा देखिएन ।

हेर्नुहोस, दुईतिहाई नभई संविधान संशोधन हुँदैन । संविधान संशोधन नभई मधेसको समस्या समाधान हुँदैन । यस्तो बेला भारतलाई होइन प्रचण्डजी र मधेसवादी दलले पनि प्रमुख प्रतिपक्षीलाई खुशी बनाउनुपर्ने हुन्छ । यता विपक्षीहरुलाई खुशी नवनाई विदेश चाहार्नु त्यति उपयुक्त हुँदैन ।

केपी ओली नेतृत्वको सरकारले चीन र भारतसँग गरेका सम्झौताहरु पार्टी नीति होइन राष्ट्रहितमा भएकाले त्यसलाई कार्यान्वयन गर्नुको अर्को विकल्प नै छैन । प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा विपक्षी दल र नागरिक समाजले पनि राष्ट्रहित विपरित सम्झौता नगर्न प्रचण्डलाई दबाब दिइरहेको छ । यो म्यादी सरकार भएका कारणले पनि महत्वपूर्ण सन्धी–सम्झौता गर्ने अधिकार यो सरकारलाई छैन । सबैले त्यही भन्दै आएका छन् । दूरगामी असर पर्ने कुरा नगर्न भन्दै आएकै छन् ।

हो, यो संक्रमण कालको अन्तअन्त हुन लागेको सरकार हो । यो सरकार को सात महिना मात्र हो । त्यसैले यो म्यादी सरकारले केही पनि गर्न मिल्दैन ।
चीनको राष्ट्रपति नेपाल आउन चाहन्छन् । चीनले एउटा ‘थीङ ट्क्याङक’ नै नेपाल पठाएर तयारीको बुझ–बुझारथ गरेको छ । उनीहरुले हामी आउन चाहन्छौँ तयारी गर् । अनुकुल वातावरण बनाउँ भनेका छन् । त्यति मात्र होइन, उनीहरुले ओली नेतृत्वको सरकारले गरेका सम्झौता कार्यान्वयन हुन्छन् कि हुँदैनन् । त्यो पनि भनेका छन् । ओली सरकारसँग सम्झौता व्यक्तिका बीचमा भएको होइन, राज्यसँग भएको हो । अरु चीन जाँदा पनि उनीहरुले त्यही भनेका छन् । त्यसैले वर्तमान सरकारले यी सबै कुराको ग्यारेण्टी गरेर, नेपालमा सुरक्षाको प्रवन्ध पनि मिलाउने भनेपछि सी नेपाल आउने संभावना बलियो हुन्छ । नत्र भन्न सकिन्न । अहिले चीनले नेपाल हाम्रो छिमेकी मुलुक हो । हामी उहाँहरुसँग राम्रो सम्बन्ध राख्न चाहन्छौँ भनेको छ । उसले अहिले पनि नेपाल आउने–नआउने बारेमा केही पनि भनेको छैन । त्यसैले सीको भ्रमण अनिश्चित नै देखिन्तछ ।

चीनले त वाममोर्चा नेतृत्वको सरकार र गठबन्धन नटुटोस् नै भन्ने चाहेको थियो । केही दिन अघि यो सरकार चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणमा आउन नदिन बनेको हो भनेर नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नै भनेकी थिइन् । त्यसले पनि धेरै कुराको प्रमाणित हुन्छ । यदि सी नेपाल भ्रमणमा तोकिएको समयमा आउने वातावरण बनेन भने कुटनीतिक रुपमा पनि वर्तमान सरकारलाई गम्भीर असर गर्ने निश्चित छ ।