अख्तियार प्रमुख कार्कीको फाइल भूकम्पमा हराएको जबाफ,कार्कीविरुद्ध निर्णय गर्न सर्वोच्चलाई गाह्रो

supreme-court-nepal

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कली फाइल फेला नपरेको भन्दै मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले सर्वोच्च अदालतलाई चिठी लेखेका छन्।
सक्कल फाइल झिकाउन अदालतले गरेको आदेशबमोजिम चिठी काट्दा पनि सरकारले बेवास्ता गरेपछि सर्वोच्च प्रशासनले भदौ २१ गतेसम्म उक्त फाइल पठाउन ताकेता गरेको थियो। उक्त ताकेताको जवाफमा जवाफमा मन्त्रिपरिषद र सामान्य प्रसाशन मन्त्रालयले सर्वोच्चलाई भदौ २१ मै यस्तो जवाफ पठाएको पाइएको छ।
भदौ २१ गते मन्त्रिपरिषदका सचिव महेन्द्रमान गुरुङले सर्वोच्चलाई लेखेको चिठीमा उल्लेख छ, ‘सर्वोच्चको चिठी प्राप्त भयो। २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट यस कार्यालयको भवनमा क्षति पुग्न गई नयाँ भवनमा कार्यालय सरेको कारणबाट उल्लेखित फाइल फेला पर्न नसकेको हुँदा उक्त फाइल फेला पर्नासाथ उपलब्ध गराइने ब्यहोरा निर्णयानुसार अनुरोध छ।’
त्यस्तै, सामान्य प्रशासन मन्त्रालयका उपसचिव भागवतप्रसाद खनालको हस्ताक्षर भएको चिठीमा ‘उक्त सक्कल फाइल खोजी भइरहेको छ, उक्त अभिलेख दस वर्ष पुरानो रहेको र पुरानो अभिलेख फेला पर्नेगरी व्यवस्थित रुपमा राखेको नपाइएको हुँदा भेटाउन नसकिएको ब्यरोरा सम्मानित अदालतसमक्ष अनुरोध गर्दछु। उल्लेखित विवरण हालसम्म फेला पर्न नसकेको, फेला पर्नासाथ सम्मानित अदालतसमक्ष पठाइने ब्यहोरा आदेशानुसार अनुरोध गर्दछु।’
सर्वोच्च अदालतको रिट महाशाखा प्रमुख नृपध्वज निरौलाले भदौ २० गते मन्त्रिपरिषदमा र सामान्य प्रशासन मन्त्रालयलाई चिठी लेखेर २४ घण्टाभित्र सक्कल फायल पठाइदिन ताकेता गरेका थिए।
‘उक्त सक्कल फायल पठाउनु भनी २०७३ साल भदौ १२ गते चलानी नम्बर ६३७ को पत्रमार्फत पत्राचार गरिएकोमा हालसम्म उक्त फाइल प्राप्त नभएकाले मिति २०७३ भदौ २१ भित्रमा माग बमोजिमको सक्कल फाइल पठाइदिने व्यवस्था मिलाइदिनुहुन आदेशानुसार सादर अनुरोध गर्छु,’ २० गते अदालतले पठाएको उक्त चिठीमा उल्लेख थियो।
अख्तियार प्रमुखमा कार्कीको नियुक्तिविरुद्धको रिट खारेज गर्ने पहिलेको आफ्नै फैसला पुनरावलोकन गर्न अनुमति दिने कि नदिने निर्णय गर्नका लागि सर्वोच्चले सरकारसँग सक्कल फाइल मागेको थियो।

भदौ ३० गते ।