प्रचण्डले तल्लो अरुण जलविद्युत् आयोजना भारतलाई सुम्पेर आउने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग नयाँ सन्धि सम्झौता नगर्ने र पुराना एजेन्डा कार्यान्वयनमा जोड दिने भन्दै भारततर्फ लागे पनि भारतमा रहँदा उहाँले नेपालका आकर्षक र ठूला जलविद्युत् आयोजना वर्षौसम्म ओगट्दै आएको भारतलाई पुनः अर्को त्यस्तै आकर्षक र रणनीतिक महत्व भएको आयोजना सुम्पने तयारी गर्नुभएको छ । कुनै विवादित र गोप्य सन्धि सम्झौता नगर्ने भनी सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले नै भारतलाई एउटा आयोजना दिन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको हो
सरकारले बास्केटमा राखी आफै अध्ययन गरिरहेको संखुवासभामा पर्ने तल्लो अरुण ४०० मेगावाट जलविद्युत् आयोजना भारतलाई दिनका लागि प्रधानमन्त्रीबाट निर्देशन आएपछि परराष्ट्रले ऊर्जा मन्त्रालयसित उक्त आयोजनाको विस्तृत विवरण माग गरेको छ । परराष्ट्र सचिव शंकर बैरागीले ऊर्जाका पदाधिकारीहरुसित ‘प्रधानमन्त्रीज्यूले जसरी भए पनि दिनै पर्यो’ भन्दै तल्लो अरुणको विवरण माग गर्न ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई मौखिक आग्रह गरेका थिए ।
मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र मार्पmत ‘एउटा आयोजना चाहियो भनेपछि’ ऊर्जाले तामाकोसी पाँचौं ८७ मेगावाटको विवरण दिने तयारी गरेको थियो । विद्युत् प्राधिकरणले विस्तृत अध्ययन गरिसकेको तामाकोसी पाँचौंको क्षमता वृद्धि गर्दा एक सय ५० मेगावाटसम्म हुने र थप अध्ययन गरिरहनु नपर्ने भन्दै उक्त आयोजनाको विवरण दिने तयारी गरेको थियो । ‘उता परराष्ट्रबाट आयोजनै तोकेर आयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘हामीले त्यसको विवरण र हालको अवस्था लेखेर पठायौं ।’
ऊर्जाले परराष्ट्रलाई लेखेको पत्रअनुसार तल्लो अरुण ब्राजिलियन कम्पनी ब्रास पावरले आधी अध्ययन गरेर अधकल्चो छाडेकाले विद्युत् विकास विभाग आफैले अध्ययन गराइरहेको छ । अरुण उपत्यकाका सबै आयोजना प्रतिस्पर्धा गरेर मात्र दिने सरकारी नीति रहेको उल्लेख गर्दै पत्रमा उक्त आयोजना सरकारी बास्केटमा रहेको उल्लेख छ ।
भदौ ३० गते ।