दाहालको भारत भ्रमणमा जारी संयुक्त वक्तव्यको माओवादी पार्टीभित्रै चर्को विरोध

maitrinews

prachanda-meets-modi

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणबारे पार्टीभित्रै चर्को विरोध भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जारी गरेको संयुक्त वक्तव्यले भारत भ्रमण फलदायी बनाएको विश्लेषण गरेका दाहाल आफ्नै पार्टीभित्रबाटै चर्को आलोचना भएको छ । सोमबारको बैठकमा आफ्नो भारत भ्रमण फलदायी भएको भन्दै निकै फुरुंग र दंग देखिएका प्रधानमन्त्री दाहाललाई पार्टीका नेताहरूले मंगलबारको बैठकमा जमेर आलोचना गरे । कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, राम कार्की , दीनानाथ शर्मालगायतका नेताहरुले अन्तर्राष्ट्रिय मुद्दाहरूमा भारतसँग गठबन्धन बनाएर अन्य अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याउन खोजेको, संविधान निर्माण गर्ने विषयलाई संयुक्त वक्तव्यमा राखेर भारतलाई आन्तरिक राजनीतिमा प्रवेश गराउन खोजेको, नेपालमा निर्माण भएका परियोजनाको संयुक्त निगरानी गरेर भारतीय हस्तक्षेप बढाएकोजस्ता आरोप लगाएर प्रधानमन्त्री दाहालमाथि खनिए ।
प्रधानमन्त्री दाहालले सोमबार बैठकमा आफ्नो भारत भ्रमणका सफलताका कथा सुनाइसकेपछि अर्थमन्त्री कृष्णबहादुर महरा र ऊर्जामन्त्री जनार्दन शर्माले असहमति जनाउनुभएको थियो ।
आफूलाई भारतको आज्ञाकारी र भारतसँग संयुक्त रूपमा जारी गरिएको वक्तव्यप्रति चिनियाँ चासो बढेपछि प्रधानमन्त्री दाहालको निर्देशनमा परराष्ट्र मन्त्रालयले थप प्रस्टीकरण दियो ।
तर यो कुरा पनि माओवादीभित्रैका नेताहरूलाई मन परेन । उनीहरुले यसलाई भारतसँग नेपालले गठबन्धन गर्न खोजेको रूपमा अथ्र्याएका छन् ।

बैठकमा वैदेशिक मुद्दामा भारतसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याइयो, भारतीय परियोजनाको अनुगमन दूतावास र सरकारले गर्दा भारतीय हस्तक्षेप निम्त्याइयो र नेपालको संविधान निर्माणको विषय वक्तव्यमा राखेर भारतलाई आन्तरिक राजनीतिमा भित्र्याइयो भन्दै दाहालको आलोचना भयो ।

असोज ४ गते ।