वैद्यका केन्द्रीय सदस्यसहित कार्यकर्ताहरु पक्राउ, प्रचण्ड निरङकुश बनेको वैद्यको आरोप

काठमाडौँ । नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध निकै आक्रामक बन्नुभएको छ । प्रचण्ड सरकारले चक्काजाम गर्न लागेका उहाँका कार्यकर्ताहरु पक्राउ गरेपछि उहाँ निकै आक्रोशित बन्दै प्रचण्डलाई निरङकुश शासक भन्नु भएको छ ।
आफ्ना कार्यकर्ता पक्राउविरुद्ध आन्दोलनमा उत्रिएको नेकपा क्रान्तिकारी माओवादीले शुक्रवार गरेको चक्काजामको क्रममा सो पार्टीका केन्द्रीय सचिवालय सदस्य दिनेश शर्मा र पवन श्रेष्ठलगायत १५ जना नेता, कार्यकर्ता पक्राउ परेका छन् ।
अध्यक्ष वैद्यले प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यहरु शारदा महत, प्रा डा जगदीशचन्द्र भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेललगायत १५ जनालाई गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा थुनामा राखिएको बताउनुभएको छ ।
विज्ञप्तिमा झुट्टा मुद्दाको खारेजी र निर्दोष कार्यकर्ताकोे रिहाइको निमित्त शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले उहाँहरुलाई पक्राउ गरेको भन्दै अविलम्ब रिहाइको माग गरिएको छ ।
क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक राम नेपाली र केन्द्रीय सदस्य महेश श्रेष्ठ र दीपेन्द्र सुनुवारलाई चन्दा सङ्कलन गरेको आरोपपत्रमा प्रहरीले बुधबार पक्राउ गरी जिल्ला अदालतमा चन्दा असुली मुद्दा लगाएर म्याद थप गरेको छ । सोही पक्राउविरुद्ध माओवादीले शुक्रबार चक्काजामको आयोजना गरेको थियो । चक्राजाम गर्दै गरेका वैद्यका कार्यकताहरुलाई प्रहरीले पक्राउ गरी चक्राजाम विफल पारिदिएको थियो ।