पशुबलि विरुद्ध चेतना फैलाउन खोज्दा खोज्दै पनि धर्म संस्कृतिको नाममा आठसय भन्दा बढी राँगा र बोकाको बलि

बैतडी, २४ असोज । बैतडीको देहीमाडौँ निंगलाशैनी भगवती मन्दिर र मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा गरी आइतबार दशैँको महाअष्टमीका दिन ८०० भन्दा बढी राँगा तथा बोकाको बलि दिइएको छ ।

तीन सय ८२ राँगा र ४३२ बोका गरी ८१४ राँगाबोकाको बलि दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै, आज महानवमीका दिन पाटनमा रहेको उदयदेव मन्दिर र तल्लादेहीमा रहेको डिलाशैनी मन्दिरमा पनि राँगा बोकाको बलि दिइने स्थानीय लोकेश साउदले राससलाई जानकारी दिनुभयो ।

दार्चुलाको धुलीगडामा रहेको दुर्गाभवानी मन्दिरमा राँगाको बलि नदिने र बोकाको बलिमात्र दिने गरेकाले आइतबार करिब १५ बोकाको बलि दिइएको त्यहाँबाट दलजितसिंह धामीले जानकारी दिनुभयो ।

महाष्टमीको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा बलि दिइने गरिन्छ ।