कहीँ नभएको जात्रा मनाइयो हाँडीगाउँमा

हाँडीगाउँ । काठमाडौँको हाँडीगाउँमा ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरी ‘चोक्ते नारायण’ जात्रा मनाइएको छ । पौराणिक कथनअनुसार लिच्छविकालमा एउटी दिदीको बिहे धनी र बहिनीको गरिब परिवारमा भएछ । दिदीले बहिनीलाई आफू धनी परिवारको भएकीले राम्रो स्वस्थ सन्तान जन्माउन सक्छु भनी घमण्ड गरिछन् । बहिनीले आफूसँग धनसम्पत्ति नभए पनि भगवान् विष्णुप्रति आफ्नो आस्था भएकाले आफ्नो पनि राम्रो सन्तान जन्मने विश्वास लिइन् ।
९ महिनामा बहिनीले स्वस्थ सुन्दर सन्तान जन्माइन् तर घमण्ड गर्ने दिदीको गर्भमा रहेको सन्तान १३ वर्ष बित्दा पनि जन्मिएन । रिसाएर शिवपुरी जंगलमा ध्यानमा बसेका विष्णुलाई मनाउन सके पेटको बच्चा जन्मिने ज्योतिषीले बताएछन् । त्यसपछि ज्योतिषको सल्लाहअनुसार दिदीले क्षमापूजा गरिन् । अन्यत्र कतै नपाइने विश्वकर्माले बनाएको खटमा राखेर जात्रा गर्ने, सुनको धागोले उनेको मैनको फूल र हिमालय पर्वतलाई ल्याएर जात्रा गर्ने प्रतिबद्धता उनले गरेपछि विष्णु खुसी भए । यसरी १४ वर्षपछि जन्मिएको उनका छोरालाई विष्णुको प्रतीकका रूपमा लिइयो । कोतास् त्वा ९टोल० का नाइके कृष्णबहादुर डंगोलका अनुसार १४ वर्षमा जन्मिएको हुनाले नेपाल भाषामा नारायणलाई चोक्तेस् नारायण भनियो ।
यसपालिको जात्रामा दिदीको प्रतीकका रूपमा सत्यनारायणका पुजारी सुशीला श्रेष्ठले पूजा गरेकी थिइन् । सामान्यतस् अन्य ठाउँको खट जात्रामा गजुर टुप्पोमा भएको मन्दिरको जात्रा गरिन्छ । तर, हाँडीगाउँको जात्रामा गजुर भुईंपट्टि र देवता टुप्पोमा भएको उल्टो मन्दिरको जात्रा गरिन्छ । मन्दिर सुनको धागोले उनेको मैनको फूलले सजाइएको पृथ्वीजस्तो घुम्ने आकारको हुन्छ । यस्तो अनौठो मन्दिरलाई १५र१५ गुठीयारले बाकेर जात्रा गरिने भएकाले यसलाई कहीं नभएको जात्राका रूपमा चिनिएको नाइके डंगोल बताउँछन् । खटको टुप्पोमा हिमालको प्रतीकका रूपमा बेतको गोलाकार चक्कालाई सेतो कपडाले बेरिएको थियो । बीच भागमा पृथ्वीको प्रतीकका रूपमा घुमाउन मिल्ने गरी बाँस र बेतले कलात्मक ढंगले मन्दिर बनाइएको थियो, जसको माथिपट्टि पृथ्वीको श्रृष्टि फूलका बगैंचाका रूपमा फूलैफूलले सजाइएको थियो । सर्वसाधारणले पूजाआजा गर्दा मन्दिरको देवतालाई नभई गजुरलाई पूजाआजा गर्छन् ।
जात्राका लागि कतिं पुन्ही ९कोजाग्रत पूर्णिमा० का दिनमा कोतास् गुठीका गुठीयारहरू शिवपुरी ध्यानमग्न विष्णुको आत्मा लिन बाँसबारीमा रातभर जाग्राम बसेका थिए । कोजाग्रत पूर्णिमाको भोलिपल्ट सघीस् पुन्ही आइतबार बेलुका विधिपूर्वक नारायण भगवानको पूजाआराधना गरी प्राण निकाली कोतास् टोलस्थित पुजारीको घरमा ल्याइएको थियो । यस दिन हाडीगाउँका रैथानेहरू निराहार बसेका थिए । व्रत बसेका पुरुषहरूले ‘म्हतुं दाय्गु’ भनी जीउले नापी प्रत्येक एक जीउबराबर एक बत्ती चढाउँदै नगर परिक्रममा गरेका थिए ।
आइतबार रातिदेखि मूर्तिलाई विधिवत पूजा गरी खटमा विराजमान गराई नगर परिक्रममा गराइएको थियो । ब्रह्माको प्रतीकका रूपमा खट कोतास् टोलका, विष्णुको खट न्याल्म टोल र महेश्वरको थतु टोलका गुठीयारले बोकेर जात्रा गर्ने चलन छ । खट यात्राका लागि पोङ्गा बाजा अनिवार्य बजाउनुपर्ने परम्परा छ ।
कात्तिक २ गते ।