बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको बढ्दो आकर्षण

maitrinews

bardia
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा अघिल्लो वर्षको तुलनामा यस वर्षको पछिल्लो तीन महिनामा ४२ प्रतिशत पर्यटक बढेको छ ।

यसवर्ष पछिल्लो तीन महिना साउन, भदौ र असोज०मा आन्तरिक पर्यटक ८०९, सार्क र अन्य मुलुकका ४०३ जना गरी जम्मा एक हजार २२१ पर्यटक बर्दिया निकुञ्ज भित्रिएका थिए ।
अघिल्लो वर्ष यसै अवधिमा आन्तरिक पर्यटकका रूपमा ४३१, सार्क र अन्य मुलुकका २७९ जना गरी जम्मा ७१० पर्यटक निकुञ्ज अवलोकनका लागि आएका थिए ।

अघिल्लो वर्ष यसै अवधिको तुलनामा यस वर्ष ५०२ जना पर्यटक बढेको निकुञ्जको अभिलेख छ । सेप्टेम्बरदेखि अप्रिलसम्मको अवधि पर्यटकका लागि मुख्य समय मानिन्छ । मौसमको सुरुवातमै पर्यटक ह्वात्तै बढेका छन् । विगतका वर्षका तुलनामा आन्तरिक र विदेशी पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको निकुञ्जको भनाइ छ । नाकाबन्दीका बेला पर्यटकको सङ्ख्यामा कमी आए पनि नाकाबन्दी हटेसँगै पर्यटकको आगमन बढेको हो ।

पछिल्ला वर्षको तुलनामा निकुञ्जमा बाघ, गैँडालगायत अन्य जनावरको सङ्ख्यामा वृद्धि भएको चर्चामा भएपछि निकुञ्ज घुम्न आउनेको सङ्ख्या बढ्दै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो । हिजोआज निकुञ्जमा बाघ र गैँडा सजिलै अवलोकन गर्न सकिने पर्यावरण पथप्रदर्शक राम शाहीले बताउनुभयो । विगतमा निकुञ्जमा परिसर मात्र घुमेर फर्कने आन्तरिक पर्यटक आजभोलि निकुञ्जमा हात्ती सफारी, जङ्गल सफारीको समेत मज्जा लिने गरेका छन् ।

विभिन्न सङ्घसंस्था, विद्यालयबाट दिनहुँजसो निकुञ्ज अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेको निकुञ्जले जनाएको छ । बर्दिया निकुञ्जको क्षेत्रफल ९६८ वर्ग किलोमिटर छ । निकुञ्जमा पछिल्लो गणनाअनुसार ३५ वटा गैँडा, ८५ वटा बाघलगायत ४३८ जन्तु, २५ भन्दा बढी घस्रिने र १२१ भन्दा बढी माछाका प्रजाति छन् ।