भारतीय राष्ट्रपति मुखर्जीव्दारा पशुपतिमा विशेष पूजाअर्चना
काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज पशुपतिनाथ मन्दिरमा लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्नुभएको छ ।
आज बिहानको विशेष पूजालाई ध्यानमा राखी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
राष्ट्रपति मुखर्जी पशुपति दर्शन विधिअनुसार पशुपति परिक्रमा गरी गर्भगृहमा प्रवेश गरेर विशेष पूजा सकी फर्केपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ ।
त्यसपछि कोषकातर्फबाट मुखर्जीलार्इ उपहारस्वरुप मायाको चिनो प्रदान गरियो। भारतीय राष्ट्राध्यक्षले १८ वर्षपछि पशुपति दर्शन गर्नुभएको हो । यसअघि पूर्वराष्ट्रपति के आर नारायणनल विसं २०५५ जेठमा पशुपतिमा फर्माइसी पूजा गर्नुाभएको थियो। पशुपतिनाथ मन्दिरलाई द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने भएकाले भारत एवम् विश्वभरका हिन्दू धर्मावलम्बीको विशेष आकर्षणको केन्द्र भन्ने गरिएको छ ।
पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले स्वागतमा विशेष स्वस्ति वाचन गरेका थिए भने
गार्गी कन्या गुरुकुलका छात्राले पनि पशुपति परिसरको दायाँबायाँ बसी उहाँको स्वागत गरेका थिए ।