काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना, सैनिक श्रेष्ठको मृत्यु,भारतमा बस दुर्घटना, चार नेपाली बेपत्ता

काठमाडौं । राजधानीको तीनकुनेमा शुक्रबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका नेपाली सेनामा कार्यरत हरिगोपाल श्रेष्ठको मृत्यु भएको हो ।
नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका लागि लगिएका श्रेष्ठको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक श्रेष्ठ नेपाली सेनाको चन्दननाथ गणमा कार्यरत हुनुहुन्थ्यो । उहँको टाउको र छातिमा गम्भिर चोट लागेको थियो । दुर्घटनास्थलबाट प्रहरीले उद्धार गरी अस्पताल पुर्‌याएको थियो ।
गौशाला क्षेत्रबाट नयाँ बानेश्वर तर्फ जाँदै गरेको मोटरसाइकल कोटेश्वरबाट गौशालातर्फ जाँदै गरेको बा ३ ख २०५६ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको हो ।
उता, भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा नेपाली मजदुर सवार यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन् ।
एउटै ठाउँमा दिनभरिको काम सकेर बेलुका कम्पनीको गाडीमा फर्कने क्रममा पुलबाट बस नदीमा खसेको थियो । त्यस बसमा आठ नेपाली र सवारीचालक परेको दुर्घटनास्थलमा पुग्नुभएका प्यूठान बेलाबास–७ का चेतनारायण घिमिरेले जानकारी दिनुभयो ।
दुर्घटनामा परी प्यूठान खाल–१ का गोमन घर्ती र श्यामबहादुर पुन, खाल–९ का हिमलाल तिर्के र रोल्पा घोडागाउँका मधु केसी बेपत्ता भएका छन् । दुर्घटनामा परेका भिंगृ–६ प्यूठानका पदमबहादुर रोका, भिंगृ–८ का जङ्गबहादुर विक र उक्टबहादुर आले, भिंगृ–४ का सुरेश रोकालाई माछा मार्ने स्थानीयवासीले उद्धार गरेका छन् ।
दुर्घटनास्थलमा अहिले बेपत्ताको खोजी जारी रहेको मूलप्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले जनाएको छ । उद्धार र बेपत्ताको खोजीका लागि नगर सहसचिव रमेश नागरी, सदस्य बाबुराम केसी र शेरबहादुर विक नेतृत्वमा नेपालीहरु घटनास्थलमा पुगेका छन् ।