उपत्यकाभित्रका ऐतिहासिक सम्पदाको अन्वेषण
—डा. साफल्य अमात्य

maitrinews

 
भूकम्पबाट बरोबर हानि, नोक्सानी भइरहने जुनसुकै ठाउँहरुको प्राचीन इतिहासका धेरैजसो पाना पृथ्वीको गर्भभित्र लुकेर बसेका हुन्छन् । हाम्रो काठमाडौं उपत्यका पनि भूकम्पको जोखिममा बरोबर पर्ने र पर्दै आएको हुनाले यहाँको प्राचीन इतिहासका धेरै कुरा अतीतको गर्भभित्रै लुकेर बसेका छन् । यी सबै सोधखोजकै विषय हुन् ।
हाम्रो इतिहासमा खासगरी वंशावलीहरुमा उल्लेख गरिएका प्राचीन राजवंशहरु जस्तै– गोपाल, महिषपाल, किराँतहरुबारे धेरै कुरा हामीलाई थाहा छैन र यी वंशहरुबारे प्रमाणित गरेर हामीले खासै केही कुरा भन्न पनि सकिरहेका छैनौं । किराँतहरुबारे केही छिटपुट कुरा थाहा पाइए तापनि यिनीहरुको इतिहासबारे भने हामी पूर्णतया अनभिज्ञ नै छौं । गोपाल र महिषपालहरुको त विभिन्न वंशावलीहरुमा राजाहरुको नामावलीबाहेक अरु केही पाइएका छैनन् ।
२०७२ सालको भूकम्पपछि पुरातत्व विभागले बेलायतको डुरहम विश्वविद्यालयको पुरातत्वविद् एवं भूगर्भविद्हरुको सहयोग लिई केही पूर्णतया भत्केका स्मारकहरुको भित्री सतह अर्थात जगभित्र पनि जिपिआर अर्थात ग्राउन्ड पेनिट्रेटिङ्ग राडार प्रयोग गरी अध्ययन तथा अनुसन्धान गरी यी सम्पदा र सम्पदास्थल भएका ठाउँहरुको प्राचीनता पत्ता लगाउन कोसिस गरेका थिए । भूकम्पको लगत्तैपछि हनुमानढोका दरवार क्षेत्रमा काष्ठमण्डपको दक्षिण–पश्चिम कुना, पाटन दरवार क्षेत्रमा चारनारायण मन्दिर र वरपर र भक्तपुर दरवार क्षेत्रमा वत्सला मन्दिरको पश्चिम भागमा उत्खनन्हरु गरी जिपिआर गरिएको थियो । यसरी गरिएका अध्ययनहरुको विस्तृत प्रतिवेदनहरु भने आउन बाँकी नै छ । तर यी उत्खनन् र जिपिआर गर्ने विशेषज्ञहरुको टोलीको नाइके प्राफेसर डाक्टर रवर्ट कनिङ्गहामले यी अध्ययन र अनुसन्धानहरुको प्रारम्भिक अध्ययनबाट काष्ठमण्डपको निर्माण इशाको बाह्रौंं शताब्दीभन्दा धेरैअघि आठौं शताब्दीमा नै भइसकेको र त्यहाँ पाइएका गोल ९चारकोल० को अवशेषलाई सि१४ प्रणालीद्वारा जाँच गर्दा त्यस क्षेत्रमा ईशापूर्व प्रथम÷द्वितीय शताब्दीतिर नै मानिसले खेतीपाती गरिसकेको कुरा थाहा हुन आएको छ । यसरी उपत्यकाभित्र हाँडीगाउँ, मालीगाउँ क्षेत्रमा मात्र होइन काष्ठमण्डप क्षेत्रमा पनि इशाको प्रथम÷द्वितीय शताव्दीतिर नै मानव सभ्यताको विकास भइसकेको अनुमान हुन्छ । हुन पनि काष्ठमण्डपको निर्माण तान्त्रिक वज्राचार्य लीलावज्रको समय आठौं शताव्दीमा नै भइसकेको थियो भनी केही विद्वान् विश्वास गर्छन् ।
सोही समय जिपिआर गर्दा हनुमानढोका दरवार परिसरको पूर्वी भाग, वसन्तपुर क्षेत्र, माजुदेगः मन्दिर वरपर प्रशस्तै पुरातात्विक अवशेष पृथ्वीको गर्भभित्र पाइएका थिए । हनुमानढोका दरवार क्षेत्रबाहेक काठमाडौं शहरभित्र धेरै नै ठाउँ जिपिआर गरी पृथ्वी सतहभित्र लुकेर बसेका हाम्रा प्राचीन सभ्यताबारे थाहा पाउन धेरै नै ढिलो भइसकेको छ । यस्ता ठाउँमा हालै भूकम्पले भत्केका लगनटोलको शिलखाना, लगनचोक र यंगालबाट लगनतर्फ जाने बाटो जहाँ सातौं शताव्दीका लिच्छविकालीन ढुङ्गेधारा यंगाहिटी भएको राणाहरुको बगैंचा, जैसींदेवल क्षेत्र वरपर, ह्युमतको लिच्छविकालीन चैत्य वरपर उत्खनन् ग¥यौं भने पूर्व लिच्छविकालका धेरै कुरा थाहा पाउन सक्छौं । लिच्छविकालबारे अझ बढी कुरा थाहा पाउन फेरि आधुनिक यन्त्रहरुको मद्दत लिई विशालनगर, हाँडीगाउँ मालीगाउँ, पशुपति जयवागेश्वरी र ग्वल क्षेत्र, चावहिल स्तूप वरपर पनि यसरी नै उत्खनन् गर्नुपर्छ । स्मरण रहोस्, केही समयअघिमात्र क्याम्बोडियाको अंकोरवाटको प्रस्तरको विशाल बौद्ध स्तूपमुनि र वरपर प्रशस्त प्राचीन सभ्यताका भग्नावशेष लुकेका छन् भन्ने स्याटलाइट ९भू–उपग्रह० को फोटोहरुको मद्दतबाट पत्ता लगाएका सञ्चार माध्यमबाट थाहा पाइएको छ ।
२०÷३० वर्षयतादेखि पुरातत्वविद्हरुले उत्खनन्को माध्यमद्वारा मात्र पुरातात्विक अवशेषहरुबारे थाहा पाउनुपर्छ भन्ने बाध्यता हटेको छ । यस्ता भग्नावशेष भएका ठाउँमा उत्खनन् नै नगरी जमिनको सतह नबिगारी हवाई फोटोग्राफीद्वारा यी भग्नावशेषबारे जानकारी लिन सकिने भएको छ । यो प्रविधिमा पनि अझ ‘टाढाको जमिन सतहको फोटो खिच्ने भू–उपग्रह’ प्रयोग गरी यस्ता पुरातात्विक अवशेषबारे झन् बढी ज्ञान हासिल गर्न सकिन्छ । साथै हिजोआज उत्खनन् नै नगरी जिपिआर र अन्यखालका मेटल डिटेक्टरहरु प्रयोग गरे पनि जमिनमुनिका भग्नावशेषबारे थाहा पाउने गरिन्छ । नेपालमा सन् ८० को दशकमा हाँडीगाउँको उत्खनन् गर्न आएका इटालियन टोलीले पनि पहिलो पटक यस्ता मेटल डिटेक्टर प्रयोग गरेका थिए ।
भूकम्पमा उपत्यकाका धेरै ठाउँ खुला क्षेत्रमा परिणत भएका छन् । विस्तारै यी ठाउँमा घर र अन्य संरचना बन्न थालेमा यस किसिमको अनुसन्धान र उत्खनन् गर्न गाह्रो हुनेछ । लिच्छविकालको इतिहासभन्दा टाढा जानुप¥यो भने हामीले काठमाडौं शहरबाहिरका केही क्षेत्रमा पनि यसरी नै वैज्ञानिक अनुसन्धान तथा उत्खनन् गराउनुपर्छ । यी क्षेत्रमा थानकोट वलम्बु, किसिपिडी, सतुङ्गल, मातातीर्थ, गोकर्ण, दुमाखाल, गोदावरी आदि मुख्य हुन् । यी क्षेत्रमा किराँतकालीन सभ्यताका अवशेष हुन सक्ने कुरामा धेरै विद्वान् विश्वास गर्छन् ।
काठमाडौंपछि मल्लकालमा विकास भएको क्षेत्र भक्तपुर हो । भक्तपुर दरवारको मल्लकालीन प्राचीन ९९ सय चोक पत्ता लगाउने अभिप्रायले उत्खनन् गर्ने तयारी भइरहेको कुरा प्रकाशमा आएको छ । त्यो साह्रै उत्साहित कुरा हो । भक्तपुरको ९९ सय चोक भएको दरवारको भग्नावशेष पत्ता लाग्ने नलाग्ने कुरा आफैँमा छ तर यो कुरा साँचो हो कि भक्तपुरको हाल देखापरिरहेको दरवार क्षेत्र भने साँच्चै नै सानो क्षेत्रमा खुम्चेर बसेको छ । डुरहम विश्वविद्यालयको टोलीले भक्तपुरको वत्सला मन्दिरको जगको पनि अध्ययन गरेको थियो । उक्त अध्ययनबाट सो मन्दिरको इशाको १२औं÷१३औं शताव्दीतिर नै बनिसकेको हुनुपर्छ भन्ने कुरा पुष्टि हुन आएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विभिन्न समयमा उत्खनन् भएका थिए । सन् १९६५ ९वि।सं।२०२१० सालमा भारतीय सहयोग नियोगबाट आएका प्रोफेसर एसपी देवले सर्वप्रथम लाजिम्पाट गैरीधारा र हाँडीगाउँका केही क्षेत्रमा सानाखालका उत्खनन् गरेका थिए । त्यसपछि सन् १९८४ देखि १९८९ सम्म पुरातत्व विभाग र इटालीको इस्मियोको संयुक्त टोलीले हाँडीगाउँ सत्यनारायण मन्दिर नजिकै उत्खनन् गरी त्यहाँ एउटा प्राचीन पोखरीको भग्नावशेष र अन्य संरचना फेला पारेका थिए । उपत्यकाभित्र योभन्दा बृहतखालको उत्खनन् अहिलेसम्म भएको छैन । त्यसरी नै सन् ८४–८५ र सन् ८८–८९ मा त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन केन्द्रको तर्फबाट मोहनप्रसाद खनाल र कोलोराडो विश्वविद्यालयका अमेरिकी प्रोफेसर डा।थेड्रो रिर्काडिको टोलीले चाँगुनारायण नजिकैको डुमाखालको उत्खनन् गरेका थिए । पुरातत्व विभागले वि।सं।२०६१ देखि उपत्यकाभित्र विभिन्न स्थानहरुमा सानातिना उत्खनन् गर्दै आएका छन् । तर यी सबै उत्खनन्को उपलब्धिले पनि हाम्रा लिच्छविकालीन अभिलेखहरुमा उल्लिखित राजदरवारहरु जस्तै मानगृह, कैलाशकुट भवन, भद्राधिवास र कुनै पनि प्राचीन शहरको ठोस् भग्नावशेषहरु भने फेला पार्न सकेका छैनन् । यस अवस्थामा अब हामीले धेरै ढिलो नगरी युनेस्को र अन्य मित्रराष्ट्रहरु खासगरी हाल नेपालमा उत्खनन्हरुमा कार्यरत डुरहम विश्वविद्यालयका पुरातत्वविद् एवं अन्य विशेषज्ञहरुलाई समेत सम्मिलित गराई हिजोआज पुरातात्विक अन्वेषण र उत्खनन्मा प्रयोग भइरहेका स्याटलाइट प्रविधिबाट फोटो लिएर हुन्छ कि, ड्रोन उडाएर पृथ्वीभित्रको फोटो लिएर हुन्छ कि, जिपिआर गरेर हुन्छ कि आदि यी सबै विधि अपनाई माथि हामीले उल्लेख गरेका उपत्यकाभित्रका सम्भावित सबै पुरातात्विक स्थलहरुको अनुसन्धान गरी आवश्यक भएमा उत्खनन्हरु समेत गरी राष्ट्रको प्राचीन ऐतिहासिक गौरवलाई उजागर गरी हाम्रो प्राचीन सभ्यतालाई जनसमक्ष ल्याई राष्ट्रको गौरव बढाउनका साथै विश्व पर्यटन क्षेत्रलाई समेत अझै बढी आकर्षित गरी देशको आर्थिक विकासमा समेत टेवा पु¥याउन सकिन्छ ।
यसरी आधुनिक वैज्ञानिक प्रविधिहरुको मद्दतद्वारा गरिएको अनुसन्धानले भूकम्पले भत्काएका स्मारकहरुको पूर्वइतिहास र पूर्वस्वरूपसमेत कस्तो थियो भनी पत्ता लगाउन सक्ने हुनाले उपत्यकाका केही महत्वपुर्ण स्मारक ९जस्तै– काठमाडौंका काष्ठमण्डप, माजुदेवल, जगन्नाथ मन्दिर, गोपीनाथ मन्दिर, जैंसीदेवल, पाटनको चारनारायण र भक्तपुरको वत्सला मन्दिर, पशुपतिको गरुजु सत्तल र अन्य स्मारक० को पनि समय र स्रोतले भ्याएसम्म यसै वर्ष नेपाल सरकार पुरातत्व विभाग र डुरहम विश्व विद्यालयको संयुक्त टोलीले काम गर्ने भएको छ ।