संविधान संशोधन विधेयक राष्ट्रघाती भन्दै एमालेव्दारा सदन अबरुद्ध

 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनको विरोध गर्दै संसद अवरुद्ध पारेपछि आजको संसद बैठक स्थगित भएको छ ।

संसदको बैठक शुरु हुने बित्तिकै बोल्दै एमाले उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन विधेयक राष्ट्रघाती भएकाले कुनै पनि हालतमा यसलाई अघि बढाउन नदिने बताउनुभयो ।

रुपान्तरित संसदलाई प्रदेश सीमांकन हेरफेरको अधिकार छैन । त्यसैले यो प्रस्ताव नै गैर संवैधानीक छ,’ उपाध्यक्ष गौतमले संशोधन विधेयक राष्ट्रघाती भएको बताउँदै भन्नुभयो, ‘संघीयता हिमाल, पहाड तराईलाई मिलाएर अघि बढ्नका लागि हो । विभाजन गरेर बहुराष्ट्रियता सृजना गर्नका लागि होइन ।’

गौतमले सरकारले ठूलो षड्यन्त्र गरेर तराइ–मधेसलाई नेपालबाट छुट्याउने चलखेल भइरहेको दाबी गर्दै एमालेले त्यसो हुन नदिने बताउनुभयो ।

गौतमले आफ्नो भनाई राखेसँगै एमालेका सांसदहरु आफ्नो कुर्सीबाट उठेपछि सभामुख ओनसरी घर्तिले शुक्रबार ३ बजेसम्मकालागि संसद स्थगित भएको घोषणा गर्नुभयो ।