सातामा १३१ अंकले बढ्यो शेयर बजार
काठमाडौं । यो साता शेयर बजारमा उछाल आएको छ । गत साता घटेको बजारमा यो साता भने शुरुदेखि नै वढोत्तरी भएको हो ।
नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १३१.०१ अंकले बढेर अन्तिम दिन १६००.४९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २९.५९ अंकले बढेर ३४६.४४ अंकमा आईपुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३७४३६ कारोबारबाट पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार रुपैयाँ बराबरका ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १५.०२ प्रतिशत बढी हो ।
गत साता १५२ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३१३३६ कारोबारबाट पाँच अर्ब सात करोड सात लाख ६६ हजार रुपैयाँ बराबरका ७३ लाख ३५ हजार तीन सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यस साता कारोबार रकम (७२ करोड १० लाख ६० हजार रुपैयाँ) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ३७ हजार कित्ता) को आधारमा बैंक अफ काठमाण्डौं लुम्विनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२१२२ वटा) को आधारमा पनि बैंक अफ काठमाण्डौं लुम्विनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।