आईएमई र अक्सिजन इण्डियावीच रेमिटेन्स सम्झौता

maitrinews

काठमाडौं । नेपालको नम्बर १ रेमिटन्स कम्पनी आईएमई र अक्सिजन सर्भिस इण्डिया प्रा.लि वीच औपचारिक रेमिटन्स सेवा शुरु भएको छ । भारतका ३० हजारभन्दा बढी सेवा केन्द्रहरु मार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आएको अक्सिजन इण्डिया र नेपालमा रेमिटेन्सको पर्यावाची मानिएको आईएमई लिमिटेडवीच भएको सेवा शुभारम्भले इण्डो–नेपाल रेमिटेन्सलाई अझै बढी संस्थागत र औपचारिक बनाउने विश्वास लिइएको छ ।
काठमाडौं स्थित होटल सांग्रिलामा आयोजित सेवा शुभारम्भ कार्यक्रममा आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल र अक्सिजन इण्डिया प्रा.लिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेना लगायत आईएमई तथा अक्सिजन इण्डिया प्रा.लिका उच्चपदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका प्रवन्ध निर्देशक ढकालले डिजिटल्स फाईनान्सीयल सेवा प्रदान गर्दै आएको अक्सिजन इण्डिया र विस्तारै डिजिटल्स फाईनान्सीयल सेवामा प्रवेश गर्दै गरेको आईएमईवीच भएको सेवा शुभारम्भले इण्डियामा रहँदै आएका लाखौँ नेपाली दाजुभाईहरुको कमाईलाई छिटो, छरितो र विश्वसनीय ढंगले नेपाल भित्राउन सहज हुने विश्वाश व्यक्त गर्नुभयो । यो सहकार्यले डलर बेचेर भारतीय रुपियाँ किन्नुपर्ने नेपालको वाध्यतालाई थोरै भए पनि कम गर्ने विश्वाश व्यक्त गर्नुभयो । आईएमई औपचारिक संजालबाट नेपाल पैसा भित्राउने आफ्नो उद्देश्यमा सफल भएको र आगामी दिनमा व्यक्तिको सशक्तिकरणमा आईएमई प्रतिवद्ध रहेको बताउनुभयो ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अक्सिजन इण्डिया प्रा.लिका अध्यक्ष एवं प्रवन्ध निर्देशक सक्सेनाले अक्सिजन इण्डियाको इतिहासमा आईएमईसँगको व्यवसायीक साझेदारी कोशेढुंगा भएको भन्दै यो सेवाले इण्डियामा बस्दै आएका लाखौँ नेपालीहरुलाई सहज रेमिटेन्स सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।