प्रधानमन्त्री प्रचण्डको स्वागत र्‍यालीमा सहभागी छात्राको ज्यान गयो

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ । वीरेन्द्रनगरमा सुरु भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा आचार्यको बिहीबार ज्यान गएको हो ।
वीरेन्द्रनगरको होराइजन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत आचार्य र्‍यालीमै बेहोस भएकी थिइन् । वीरेन्द्रचोक पुगेपछि बेहोस भएकी उनलाई तत्कालै वीरेन्द्रनगरस्थित नर्सिङ होममा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई बाँकेको कोहलपुर शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ डाक्टरले समीक्षालाई मृत घोषित गरेका थिए ।
प्रधानमन्त्रीलाई स्वागत गर्न भन्दै बिहान १० बजे विद्यालयबाट सीधै उनी र्‍यालीमा सहभागी भएकी थिइन् । सबै विद्यार्थीलाई विद्यालयले प्रधानमन्त्री आउने भन्दै र्‍यालीमा पठाएको थियो । घन्टौंसम्म लाममा हिँड्दा उनी बाटोमै बेहोस भएकी थिइन् ।
वीरेन्द्रनगरका सरकारी तथा निजी विद्यालयका विद्यार्थीलाई पोसाकसहित बिहान १० बजेदेखि नै र्‍यालीमा सहभागी गराइएको थियो तर प्रचण्ड भने अपरान्ह ३ बजेमात्र मेलास्थलमा पुग्नुभएको थियो । घरकी जेठी छोरी समीक्षा पढाइमा अब्बल थिइन् । स्थायी घर पाल्पा भएकी उनका बाबुआमा वीरेन्द्रनगरमा व्यापार गर्दै आएका छन् । समीक्षाका बाबु विष्णु आचार्यले लामो समयसम्म लाममा बस्दा पानी पनि खान नपाएर छोरीको ज्यान गएको भन्दै आक्रोश पोखे ।
समीक्षाका आफन्तले घटनाको जिम्मा विद्यालय र मेला आयोजकले लिनुपर्ने माग राखेका छन् । चिकित्सकले समीक्षाको मुटुमा रक्तसञ्चारमा अवरोध हुँदा मृत्यु भएको बताएका छन् । उनीहरूका अनुसार तनाव, भीडभाड र शरीरमा थकान हुँदा किशोरकिशोरीमा यस्तो समस्या देखिन्छ ।