२७ अंकले घट्यो यो साता शेयर बजार

काठमाडौं । यस साता पनि शेयर बजार ओरालो लागेको छ । मुलुकमा ब्यापत अस्थिर राजनीतिक अवस्थाका कारण बजार खस्किएको हो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६.२७ अंकले घटेर अन्तिम दिन १५४४.६८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५.३७ अंकले घटेर ३३४.४३ अंकमा आईपुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३३२१ कारोबारबाट तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार रुपैयाँ बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४३.६३ प्रतिशत कम हो । गत साता १५२ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३७४३६ कारोबारबाट पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार रुपैयाँ बराबरका ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यस साता कारोबार रकम (३५ करोड ४४ लाख ७० हजार रुपैयाँ) को आधारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख १४ हजार कित्ता) को आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१८४८ वटा) को आधारमा पनि सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।