हिमाल,पहाड र तराईबीचको एकता भत्काउने षडयन्त्र भइरहेको छ : पूर्वराजा ज्ञानेन्द्र

maitrinews

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको बताउनुभएको छ ।
पूर्वराजा शाहले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ– “आज नेपालीबीचको सामाजिक सदभाव मेटिँदै छ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगिरथ प्रयत्न भइरहेको छ ।”

निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधार किमार्थ बलियो हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– “अझै पनि जनताका आस्था ढलेका छैनन् । नेपाली मन मष्तिस्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले राष्ट्र बचाउन फेरी एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन मुखर र प्रखररुपले जाग्नै परेको छ ।”
राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अभिभाज्यताको सन्देश फैलाउन पूर्वराजाले आग्रह गर्नुभएको छ ।