राष्ट्रिय एकता दिवसमा पनि बिदा दिइनुपर्छः मन्त्री केसी

चितवन । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आज सरकारले क्रिसमसको सार्वजनिक बिदा दिएझैँ पुस २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले भरतपुरमा निर्माण गर्दै गरेको भवनको आज निरीक्षणपछि पत्रकार सम्मेलनमा उहाँले आफ्नो यसमा निरन्तर जोड रहने बताउनुभयो ।
ठूला तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एकै ठाउँमा बसेर अहिलेको समस्याको समाधान निकाल्नुपर्ने बताउँदै उहाँले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनाको विकल्प छैन भन्नुभयो ।

संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै उहाँले भन्नुभयो, “फिर्ता लिन सम्भव छैन, असफल बनाउने अधिकार विपक्षीलाई छ ।” संसदीय प्रक्रिया रोकिँदा स्थानीयदेखि संसदीयसम्मका निर्वाचन गराउन निर्माण गर्नैपर्ने ५० जति विधेयकमाथि छलफल रोकिएको उहाँले बताउनुभयो ।

सो अवसरमा युनियनको भवन निर्माणका लागि उद्योग सङ्घ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेलले रु २५ हजार प्रदान गर्नुभएको थियो । भवन गत वर्षे आजकै दिन शिलान्यास गरिएकामा निर्माण सम्पन्न हुने क्रममा छ ।