९२ जना सवार रुसको सैनिक विमान कृष्णसागरमा दुर्घटनाग्रस्त

मस्को । रुसको सैनिक विमान कृष्णसागरमा खसेको छ । उडान भरेको २० मिनेटमा नै वेपत्ता भएको रुसी सैनिक विमान कृष्णसागरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
टीयू—१५४ विमान सोचीबाट डेढ किलोमिटरको दुरीमा रहेको कृष्णसागरको करिब ५० देखि ७० मिटर गहिराईमा फेला परेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सो विमानमा सैनिक, सैन्य म्युजिक ब्याण्ड, पत्रकारसहित कुल ९२ जना थिए ।
यो विमान सीरियाको लटाकिया प्रान्त जाँदै थियो । रुसको राजधानी मस्कोबाट उडेको विमान सोचीमा इन्धन भरेर पुनः उडेको थियो । रुसी सेनाका प्रवक्ताका अनुसार विमानमा सवार व्यक्तिहरु सीरियामा तैनाथ रुसी सेनाका जवानहरुको नयाँ वर्षको कार्यक्रममा सहभागी हुन जाँदै थिए । रुसले सिरियाका राष्ट्रपति बसर अल असदको समर्थनमा विद्रोहीहरुविरुद्ध सैन्य कारबाही गर्दै आएको छ ।