अमेरिका र इजरायलबीच सम्बन्ध चिसियो, अमेरिकी विदेशमन्त्रीको वक्तव्यप्रति इजरायली प्रम रुष्ट

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अमेरिकी विदेशमन्त्री जोन केरीको वक्तव्यले आफूलाई एकदमै निराश बनाएको भन्दै राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पसँग काम गर्न इच्छुक रहेको बताउनुभएको छ।
उहाँले केरीले इजरायली बस्तीबारे बढाइचढाइ धारणा राखेको तर प्यालेस्टाइनका उत्तेजनात्मक तथा हिंसात्मक गतिविधिबारे प्रतिक्रियासम्म नजनाएको बताउनुभयो।
यसअघि एउटा भाषणमा अमेरिकी विदेशमन्त्री केरीले अधिनस्थ भूभागका यहुदी बस्तीले मध्यपूर्वको द्वन्द्व सामाधानका लागि दुई राज्यको अवधारणालाई क्षति पुर्याइरहेको बताउनुभएको थियो।
प्यालिस्टिनी राष्ट्रपति महमुद अब्बासले इजरायलले अवैध बस्ती बनाउन रोके वार्ता शुरु गर्न तयार रहेको बताउनुभएको छ
एउटा टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री नेतान्याहुले मध्यवपूर्वमा तनावहरु बढिरहेको सन्दर्भमा इजरायलप्रति एकदमै आलोचनात्मक अमेरिकी विदेशमन्त्रीको सम्बोधनको कडा आलोचना गर्नुभयो।
उहाँले भन्नुभयो, ूयदि शान्तिलाई नै बढावा दिन चाहने हो भने इजरायललाई अस्वीकार गर्ने प्यालेस्टाइनको निर्णय र हिंसाप्रतिको उसको समर्थनका बारेमा विश्वले ध्यान दिनुपर्छ, यति साधारण सत्यलाई पनि विदेशमन्त्री केरीले बुझ्न नसक्नु लाजमर्दो हो र म त्यसप्रति दुस्ख मात्रै व्यक्त गर्नसक्छु।ू
त्यसअघि आफ्नो कार्यकाल सकिन तीन साता बाँकी रहँदा दिएको एउटा मुख्य सम्बोधनमा अमेरिकी विदेशमन्त्री केरीले अधिनस्थ भूभागमा निर्माण गरिएका यहुदी बस्तीको भर्त्सना गर्ने राष्ट्रसंघको निर्णय अमेरिकी मूल्य मान्यता अनुरुप भएको बताउनुभयो।