२२ गतेको जनप्रदर्शनका लागि ११ वटा नारा तय

काठमाडौँ । नेकपा एमालेसहितका ९ राजनीतिक दलले यही पुस २२ गते राजधानीमा गर्ने जनप्रदर्शनको तयारीका लागि ‘राष्ट्रघात, विखण्डन र जनविरोधी संशोधनका विरुद्ध राष्ट्रिय एकता, संविधान कार्यान्वयन र निर्वाचनका लागि हाम्रो प्रतिवद्धता’ भन्ने मूल नारा तय गरेको एमाले प्रचार विभागले जानकारी दिएको छ । पार्टी सचिव एवं केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीको अध्यक्षतामा मूल व्यवस्थापन उपसमितिको बैठकले यस्तो नारा तय गरेको हो । बैठकले जनप्रदर्शनका तयारीको सन्दर्भमा भएका कामहरुको समीक्षा समेत गरेको थियो । ‘पुस २२ गतेको जनप्रदर्शनका लागि आधिकारिक नाराहरु तय गरेको छ,’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘बैठकले पुस २२ गतेका लागि पार्टीका सबै प्रकारका संगठनहरुले यही नारालाई आधिकारिक नारा बनाएर ब्यानरहरु बनाउनसमेत निर्देशन गरेको छ ।’
नारा निम्नप्रकार छन् ः
१ संविधान संशोधन विधेयक खारेज गर,
निर्वाचनको मिति घोषणा गर
२ संविधानमाथिको प्रतिघात,
संशोधनमार्फत् राष्ट्रघात
३ विखण्डनवाद मूर्दावाद,
जनताको एकता जिन्दावाद
४ तराई–पहाड एउटै ज्यान
नेपाली हाम्रो पहिचान
५ राष्ट्रिय स्वाभीमान–जिन्दावाद,
लम्पसारवाद – मूर्दावाद
६ वाह्य हस्तक्षेप बन्द गर
७ के शहर के गाउँ,
राष्ट्रिय शक्ति एकै ठाउँ
८ सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद
९ हत्या हिंसा आतंक बन्द गर,
शान्ति सुरक्षा कायम गर
१० हिमाल पहाड तराई– कोही छैन पराई
११ आदरणीय शहीदहरु –अमर रहून्