उपत्यकाका आठ कुमारीको पूजा

maitrinews

काठमाडौँ । कुमारी परम्परालाई जगेर्ना गर्न उपत्यकाका नेवार समुदायका महिलाहरू जुटेका छन् । उनीहरूले आफ्नै खर्चमा उपत्यकाका विभिन्न स्थानका ८ कुमारीको ‘भ्वय्ब्व’ राखी पूजा गरेका छन् । कुमारीका अगाडि एक मुरी चिउरामाथि माछा, अदुवा, भट्टमासजस्ता परिकारलाई नेपाल भाषामा ‘भ्वय्ब्व’ भनिन्छ ।

काठमाडौंको हयुमत मिसा पुच महिला समूहको आयोजनामा गरिएको पूजामा वसन्तपुर, मखन, किलागल, टोखा, साँखु, बुंगमती, हस्खा र आजीवन गरी ८ कुमारीको पूजा गरिएको थियो । पूजामा काठमाडौं किलागलका मिसा पुच महिला समूह, मुकु बहाल, कोहिटी, त्यागलगायत टोलका महिला समूह सहभागी थिए । ज्यापु महागुठीमा आबद्ध ३६ टोलका महिला प्रतिनिधि पनि सहभागी थिए । हयुमत मिसा पुचस्का अध्यक्ष ज्ञानशोभा महर्जनले सबै कुमारीलाई एकै स्थानमा भेला गराएर समस्याबारे छलफल गर्ने योजना रहेको बताउनुभयो । ‘२०७० मा आयोजित पूजाकै कारणले पनौतीमा लोप भइसकेको कुमारी परम्परा ८० वर्षपछि पुन निरन्तरता भएको छ,’उहाँले भन्नुभयो ।

साँखुका प्रदीप वज्राचार्यले राज्य पक्षबाट मल्लकालमा पूजाको व्यवस्था राज्यबाटै हुने गरे पनि अहिले नभएको बताउनुभयो । ‘दसैंमा गुठी संस्थानको सहयोगमा पूजा हुँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘अरूबेला कुमारीलाई गरिने दैनिक, मासिक पूजा तथा प्रसादग्रहणमा गर्न लाग्ने खर्च आफैंले व्यहोर्दै आएका छौं ।’