शोकप्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित

maitrinews

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले पूर्वसांसद मणिराम पोखरेलको निधनमा शोक व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेको छ ।
बैठकले २०१५ सालमा तत्कालीन खोटाङ जिल्ला क्षेत्र नं १६ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पोखरेलमा श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो । सभामुख ओनसरी घर्तीले प्रस्ताव गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
नेपाली काँग्रेसका तत्कालीन सांसद पोखरेलको ८७ वर्षका उमेरमा यही पुस १८ गते निधन भएको हो । पोखरेल मुलुकको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा साहित्यसेवक हुनुहुन्थ्यो ।
व्यवस्थापिका–संसद्को बैठक आज अपराह्न १५ः०० बजेसम्मका लागि स्थगन भएको छ । एमालेलगायतका नौ दलले संशोधन प्रस्ताव अगाडि बढाउन नदिने भएपछि बैठक स्थगित गरिएको हो ।