निर्वाचन आयोग स्थानीय चुनावको तयारीमा,माघ १७ सम्ममा दल दर्ता गर्न आग्रह
काठमाडौँ। निर्वाचन आयोगले स्थानीय निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा माघ १७ गतेसम्म राजनीतिक दल दर्ताका लागि अनुरोध गरेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको आयोग बैठकले यस्तो निर्णय गरेको हो । नेपालको संविधानले व्यवस्था गरेअनुसार अब राजनीतिक दलहरूले स्थानीय तह, प्रदेशसभा र सङ्घका लागि अलग–अलगरूपमा राजनीतिक दल दर्ता गर्नुपर्ने हुन्छ । प्रमुख आयुक्त यादवले गर्दै भन्नुभयो, ‘‘पहिले यस्तो व्यवस्था थिएन, अहिले संविधानले तीन तहको निर्वाचनको व्यवस्था गरेको छ, अब स्थानीय तह, प्रदेशसभा र सङ्घका लागि दलहरूले दर्ता गर्नुपर्छ, यो निर्वाचन व्यवस्थापनका लागि हो । ’’
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, दलहरूले जिल्लामा क्रियाशील रहेका दलहरूले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालयमा दल दर्ता गराउनुपर्ने छ । जुन राजनीतिक दल त्यो जिल्लामा क्रियाशील छन् ती दलले आयोगमा दर्ता हुन पाउने छन् । आयोगमा दर्ता नभएका दलले त्यो जिल्लाको स्थानीय तहको निर्वाचन पार्टीगत सहभागिता जनाउन पाउने छैनन् । अहिले दर्ता भएको आधारमा निर्वाचनसहितको मतपत्रको व्यवस्थापन हुने छ । नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालनसम्बन्धी व्यवस्था छ । राजनीतिक दलले कानुनबमोजिम कार्यविधि पूरा गरी निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्नेछ । दल दर्ता गराउने प्रयोजनका लागि निवेदन पेस गर्दा सम्बन्धित राजनीतिक दलको विधान र घोषणापत्रका अतिरिक्त सङ्घीय कानुनबमोजिमका अन्य कागजात पेस गर्नुपर्नेछ ।
यसरी दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलले राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने, राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने संवैधानिक व्यवस्था छ । आयोगले जारी गरेको विज्ञप्तिमा राजनीतिक दलको नाम, दलको केन्द्रीय कार्यालय रहेको ठेगाना, दलको केन्द्रीय समितिका अध्यक्षरसभापतिरमहासचिवको नाम उल्लेख गर्नुपर्ने छ । यसैगरी, आयोगले दलको जिल्लास्तरीय कार्यालय रहेको ठेगाना, जिल्लास्तरीय समितिका प्रमुख र पदाधिकारीहरूको नाम, जिल्लास्तरीय समितिको इमेल ठेगाना र विवरणसहित दर्ता गर्न अनुरोध गरेको छ ।