पुनःनिर्माण प्राधिकरण राजनीतिको शिकार, कार्यकारी प्रमुख ज्ञवाली हटाइयो,पोखरेल ल्याइयो

maitrinews

काठमाडौँ । माओवादी काँग्रेस गठबन्धनसरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेर डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गरेको हो ।
डा. पोख्रेललाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त गर्न कांग्रेसले प्रस्ताव गरेको थियो ।
काम चित्तबुझ्दो नभएको भन्दै यसअघि सरकारले सुशील ज्ञवालीसँग स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले भने सरकारकै असहयोगका कारण काम गर्न नसकिएको स्पष्टीकरण बुझाउनुभएको थियो । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीलाई पदबाट हटाएको हो । ज्ञवाली केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको थियो ।
बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको छ ।
कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेसिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
बैठकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि करारमा कर्मचारी नियुक्तिको अनुमति दिने निर्णय पनि गरेको छ । नियुक्त गरिएका कर्मचारीहरुको करार अवधि एक वर्षको हुने पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।