मधेसबिनाको काठमाडौँ कल्पना हुनै सक्दैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसबिनाको काठमाडौँको कल्पना हुनै नसक्ने बताउनुभएको छ ।
दुबईमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुनेमा जोड दिनुभयो ।
हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्रीले कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिँदैन भन्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो– “मधेसका लागि काठमाडौँ र काठमाडौँका लागि मधेस दुवै अभिन्न रुपमा जोडिएका छन् । मधेसबिनाको काठमाडौँको कल्पना पनि गर्न सकिँदैन । सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि हो ।”
सरकारको चासो आर्थिक समृद्धि र विप्रेषण महत्वपूर्ण आयोजनामा लगानी गर्नुमा रहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो – “मेरो नेतृत्वमा सरकार बनेदेखि निरन्तर देश दौडाहामा छु । कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, कसरी राष्ट्रिय आयोजनाहरु छिटो सम्पन्न गर्न सकिन्छ । तपाइँहरुको पसिनाबाट आर्जेको विप्रेषण कसरी सदुपयोग र लगानी गर्न सकिन्छ । यसका लागि मैले निरन्तर प्रयास गरिराखेको छु ।”

नेपालमा प्राकृतिक टावर सगरमाथा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले मानव निर्मित टावर र प्राकृतिक टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको स्पष्ट पार्नुभयो ।

प्रवासी नेपालीसँग प्रधानमन्त्रीले नेपाली व्यवसायीसँग अन्तक्र्रिया गर्नुभएको थियो । अन्तक्र्रियामा प्रधानमन्त्रीले भन्नुभयो – “तपाइँहरुले नेपालबाट आएर यहाँ व्यवसाय गर्नुभएको छ । हामी नेपालमा पनि लगानीको वातावरण बनाउन प्रयत्नशील छाँै । त्यसका लागि आगामी मार्च २ र ३ मा काठमाडौँमा लगानी सम्मेलन गर्दैछौँ । तपाइँहरुले पनि नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश लैजान अनुरोध गर्छु ।”

प्रधानमन्त्रीले प्रवासी नेपालीका समस्या प्रत्यक्ष बुझ्ने अवसर पाएको जानकारी दिँदै भन्नुभयो – “तपाइँहरुले आफ्ना समस्या र पीडा राख्नुभएको छ । मैले सरकारको तर्फबाट प्रवासी नेपालीका समस्या समाधानमा निरन्तर कोसिस गरिरहेको छु । अध्यागमनलाई व्यवस्थित गर्ने, गलत काम गर्ने कर्मचारीलाई कारबाही गर्ने, दुबईमा कन्सुलर कार्यालय खोल्ने विषयमा छिट्टै निर्णय लिनेछौँ । सरकार तपाइँहरुको साथमा छ, आवश्यक सहयोगका लागि सक्दो कोसिस हुनेछ ।”
कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले नेपालमा विद्युत् बजारको समस्या नरहेको भन्दै उत्पादित विद्युत् नेपालमै खपत गर्न सकिने र साझा सङ्कल्प गर्ने हो भने १५ वर्षभित्र देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।
सो अवसरमा व्यवसायी र प्रवासी नेपाली कामदारहरुले नेपालको आर्थिक विकास र विदेशमा नेपालीले भोग्नुपरेका विविधि समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।