गोरु जुधाइ : अन्तर्राष्ट्रिय परिचय बनाउँदै

 

तारुका (नुवाकोट), ३ माघ । आफ्नो बिर्ता जग्गाको बाली बुझ्न आएका बझाङ्गी राजालाई खुसी पार्न स्थानीय तारुकावासीले सुरु गरेको गोरु जुधाउने पर्वले समय क्रमसँगै अन्तर्राष्ट्रिय परिचय बनाउँदै गएको छ ।

तारुकावासीले मङ्सिर महिनामा बाली भित्र्याइसकेपछि बाली बुझ्न आउने क्रममा विसं १८८७ मा बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंहलाई मनोरञ्जन प्रदान गर्न तारुकावासीले यो परम्परा सुरु गरेको इतिहास रहेको तारुका–५ स्थानीयवासी ७८ वर्षीय धनबहादुर प्रधानले जानकारी दिनुभयो ।

हालको तारुका, बुधसिंह र खाल्टे गाविस तत्कालीन अवस्थामा बझाङ्गी राजाको बिर्ता रहेको स्थानीयवासीको भनाइ छ । त्यतिबेला ंमनोरञ्जनका अन्य साधन नभएकाले गोरु जुधाएर राजाका छोरालाई मनोरञ्जन प्रदान गरिएको हुनसक्ने उहाँको कथन थियो ।

यही परम्परालाई कामय राख्नै तारुकावासीले प्रत्यके वर्ष माघेसङ्क्रान्तिका दिन गोरु जुधाउने परम्परालाई निरन्तरता दिँदै आएका छन् । यो परम्परा सुरु भएपछिको करिब १७३ वर्ष यसले खासै चर्चा पउन सकेन, स्थानीयस्तरमै सीमित रहँदै आयो । केही बेला अघिसम्म स्थानीयवासीले छुट्टाछुट्टै समूहमा तारुकाको टोलटोलमा गोरु जुधाउने गर्दैआएका थिए । करिब १७३ वर्षसम्म तारुका वडा नं २ को आँपचौरको पाटो, वडा नंं ३ को गैरीगाउँको पाटो, वडा नंं ५ को कटरबोटको पाटो र वडा ६ को नरकोटे पाटोमा गोरुहरू जुधाइन्थ्यो ।

टोलैपिच्छे गोरु जुधाउने परम्पराले चर्चा पाउन नसकेपछि स्थानीय युवा मिलेर विगत १२ वर्षदेखि गोरु जुधाइलाई एकीकृत बनाएर तारुका–५ स्थित चन्दनीको कटहरबोटको पाटोमा सुरु गरिएपछि यसको चर्चा चारैतिर हुनथालेको छ भने उक्त मेलाको समाचार सङ्कलनका लागि विदेशी सञ्चारमाध्यमका प्रतिनिधिसमेत चन्दनीको कटहरबोट पुग्ने गरेका छन् ।

तारुका–६ का स्थानीयवासी नवीन अधिकारीका अनुसार विगत १२ वर्षदेखि यसलाई स्थानीय युवा मिलेर भव्य र सभ्य तरिकाले तारुकाको साँस्कृतिक पर्वका रुपमा अघि बढाएपछि यसको चर्चा चुलिँदै गएको हो । अहिले यहाँका गाउँ बाहिर रहेको व्यक्ति दसैँतिहारमा घर नआए पनि यो बेला घर आउने गरेका छन् ।

बाह्र वर्षदेखि यो पर्व मनाउन प्रमुख राजनीतिक दलले चक्रीय प्रणाली अपनाएका छन् । मेला सञ्चनाल गर्ने विषयमा स्थानीयवासीबीच मनमुटाव बढ्दै गएपछि चक्रीय प्रणालीमा मेला सुरु गर्न थालिएको उहाँले जानकारी दिनुभयो । चक्रीय प्रणालीअनुसार मेलाको नेतृत्व एक वर्ष एउटा दलले र अर्को वर्ष अर्को दलले गर्ने सहमतिअनुरुप आयोजना भइआएको छ ।

हाल तारुकामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेलालाई नेपाल पर्यटन बोर्डले समेत सहयोग उपलब्ध गराउँदै आएको स्थानीय विष्णु तारुकेले जानकारी दिनुभयो ।

मेलामा अहिले नुवाकोट आसपासका धादिङ, रसुवा, चितवन, कास्की, काठमाडौँलगायतबाट हजारौँ दर्शक आउने गर्दछन् ।

यसपटक मेलामा आफ्नो गोरु जुधाउन चाहने कृषकले पुस २३ गतेभित्रै गोरुको दर्ता गरिसक्नुपर्ने कार्यतालिका रहेको थियो । उक्त अवधिमा १८ हल गोरु दर्ताका लागि आएका थिए । गोरु छिमेकी जिल्ला धादिङको खाल्टे र कल्लेरी गाविसबाट समेत ल्याइएका थिए ।

मेलालाई थप आकर्षक बनाउन किसानले गोरुको नाम समेत तोक्ने गरेका छन् । यस वर्ष तारुका–२ का रोमन श्रेष्ठको काले, अम्बर तामाङको विच्छे, तारुका–७ का सुरेश भण्डारीको गजे, दिवश न्यौपानेको लाले, धादिङ खाल्टे–६ का विमल थापामगरको मिल्के, तारुका–७ का अर्जुन भण्डारीको फुर्के, तारुका–२ का रामजी अधिकारीको राजा, तारुका–५ का नरबहादुर मजकोटीको तारेलगायतबीच भिडन्त भएको थियो । सबैभन्दा रोचक भिडन्त भने रामजी अधिकारीको राजा र तारेबीच भएको थियो । भिडन्त ३८ मिनेट चलेको थियो जसमा राजाले बाजी मा¥यो । मेलामा तीनदेखि सात वर्षसम्मका गोरु जुधाइएको थियो ।

गोरु जुधाइ मेलामा जित्ने गोरुका धनीलाई प्रमाणपत्र, रु एक हजार र सहभागी गोरुलाई पाँच सय र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा काठमाडौँबाट मेला हेर्न आउनेको ठूलो सङ्ख्यामा उपस्थिति थियो भने सञ्चारकर्मी र पर्यटन व्यवसायीहरूको पनि उल्लेख सहभागिता थियो ।

यस्तै, गोरु पाल्ने किसानलाई अन्नपात तथा अण्डालगायतका दानासहित दुर्घटना बीमा समेतको व्यवस्था गरिएको मेला आयोजक समितिका सचिव होमनाथ सिग्देलले जानकारी दिनुभयो ।

गोरु दर्ता, बीमा, मेला व्यवस्थापन लगायतका कार्यका लागि नौ सदस्यीय अर्को उपसमितिसमेत गठन गरिएको थियो । गोरु जुधाउने क्रमामा मरिहाल्यो भने रु ३० हजारसम्मको बीमा व्यवस्था गरिएको थियो । नुवाकोट, रसुवा तथा धादिङका किसानले माघेसङ्क्रान्तिमा जुधाउन असार, साउनदेखि नै गोरुलाई विशेष हेरचाहका साथ पाल्ने गर्छन् ।

गोरु जुधाइ स्पेनको बुल फाइटभन्दा कम नभएको भन्दै यसको समयमै व्यापक प्रचारप्रसार हुनुपर्ने स्थानीयवासीको भनाइ छ ।

पूर्वाधार विकासमा जोड

मेलामार्फत स्थानीयवासीले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका साथै तारुकाको पूर्वाधार विकासमा जोड दिइआएका छन् ।

तारुकासम्म पुग्न अहिले तारुकाघाटबाट करिब सात किलोमिटर जोखिमपूर्ण कच्ची बाटो जानुपर्ने बाध्यता छ र उक्त बाटोको स्तरोन्नतिका लागि स्थानीयवासीले माग गर्दै आएका छन् ।

स्थानीय शिव अधिकारी भन्नुहुन्छ, “सरकारले तारुकाघाटमा पक्की पुल र सात किलोमिटर मोटरबाटोलाई स्तरोन्नति गरिदिए मेलाको रौनक र पर्यटकको सङ्ख्या अहिलेको भन्दा दोब्बर बढ्थ्यो ।”

उहाँका अनुसार बर्सेनि कुनै न कुनै राजनीतिक दलका नेतालाई मेलाका प्रमुख अतिथिका रुपमा लैजाने र यहाँको समस्याका बारेमा अवगत गराउने काम हुनुपर्ने हो, अहिलेसम्म यस दिशामा खासै ध्यान पुग्न सकेको छैन । रासस(कुमारप्रसाद चौलागाई)