नयाँ पर्यटकीय गन्तव्य बन्दै नवलपरासीको ‘जटायु रेस्टुरेन्ट’

maitrinews

 

काठमाडौँ । लोपोन्मुख अवस्थामा पुगेका गिद्धलाई विषादीरहित आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएका ‘जटायु रेस्टुरेन्ट’ पछिल्लो समयमा पर्यटकीय दृष्टिले समेत आकर्षक बन्दै गएका छन् ।

लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियानअन्तर्गत नेपालमा सर्वप्रथम सन् २००६ मा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदायद्वारा सञ्चालन गरिएको ‘जटायु रेस्टुरेन्ट’ को स्थापना भएको थियोे ।

सामुदायिक वन उपभोक्ताको सक्रियतामा यसरी खुलेका ‘जटायु रेस्टुरेन्ट’ जैविक विविधता संरक्षणका लागि उपयोगी मात्र नभई पछिल्लो समयमा पर्यटकीय गन्तव्य बन्दै आयआर्जनको स्रोतसमेत बन्दै गएका यस क्षेत्रका जानकार बताउँछन् ।

जटायु रेस्टुरेन्टको स्थापनापछि गिद्धको सङ्ख्या तीन गुना बढेकोे जानकारी दिँदै पिठौली जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरी पछिल्लो समयमा गिद्धका क्रियाकलाप हेर्न र अनुसन्धान गर्नसमेत पर्यटक आउन थालेको बताउनुहुन्छ । समितिले जटायु रेस्टुरेन्ट सञ्चालनका साथै दिगो जीविकोपार्जनका लागि पर्या–पर्यटनसँग सम्बन्धित विभिन्न तालिम तथा कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

नवलपरासी ‘जटायु रेस्टुरेन्ट’को सफलतापछि रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजनौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको रामधुनीमा पनि सोही प्रकारका रेस्टुरेन्ट स्थापना गरिएका छन् ।

यसरी खोलिएका रेस्टुरेन्टमा गौरक्षा केन्द्र हुन्छन् जहाँ किसानबाट वृद्ध, अशक्त, र बेकामी गाईवस्तु सङ्कलन गरी पालनपोषण गरिन्छ । रेस्टुरेन्टमा राखिएका गाई गोरुको प्राकृतिक मृत्युपश्चात् गिद्धको आहारका लागि निश्चित स्थानमा राखिन्छ जहाँ गिद्ध आई खान्छन् । त्यहाँ गिद्धको आनीबानी नजिकबाट लुकेर हेर्ने पर्यटक अवलोकन घर पनि हुन्छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण अर्यालले यस्ता रेस्टुरेन्टलाई गिद्धको संरक्षणका साथसाथै पर्यापर्यटनसँग जोडेर आर्थिक उपार्जनको बाटो बनाउन सकिनेमा जोड दिनुभयो । पर्यटकलाई आकर्षित गर्ने योजनासहित जटायु रेस्टुरेन्टको बजारीकरण गरी आन्तरिक र बाह्य दुवै पर्यटकलाई भित्र्याउन सकिने कार्यकारी सदस्य अर्यालको भनाइ छ ।

घरपालुवा पशु उपचारमा प्रयोग गरिने पीडानाशक औषधि डाइक्लोफेनेक सेवन गरेका पशुको सिनो खाएकै कारण पछिल्ला दशकमा नेपाललगायत दक्षिण एसियामै गिद्ध ९० प्रतिशतले घटेको अध्ययन प्रतिवेदनले पुष्टि गरेको छ । यसबाहेक विष खुवाएर मारेका जनावरको सिनो खाएर र गुँड बनाउने अग्ला सिमलका रुखको विनाशले पनि गिद्ध लोप हुँदै गएको विज्ञहरुले बताएका छन् ।

नेपालमा पनि सन् २००२ देखि २०१० सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डङ्गर गिद्ध ९१ प्रतिशतले घटेको पाइएको नेपाल पक्षी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत डा नरेन्द्रमान बाबु प्रधानले बताउनुभयो । यस्ता रेस्टुरेन्टमार्फत स्थानीय समुदायको जीविकोपार्जन, सामुदायिक विकास, स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका साथै पर्या–पर्यटनको विकास गर्न सकिने प्रमुख कार्यकारी अधिकृत, डा प्रधानको भनाइ छ ।

विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् । विश्व प्रकृति संरक्षण सङ्घका अनुसार नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये डङ्गर, सानो खैरो र लामो ठूँडे गिद्ध अति सङ्कटापन्न अवस्थामा छन् । प्रकृतिको कुचिकार भनिने गिद्धले मरेका जनावरको सिनो खाएर पृथ्वीलाई सफा राख्नुका साथै दुर्गन्धले फैलने रोगबाट मानिसलाई समेत जोगाउँछन् ।

सङ्घले अन्य साझेदार संस्थाको समन्वयमा जटायु रेस्टुरेन्टलाई दिगो व्यवस्थापन गरी गिद्धलगायत अरु जैविक विविधताको संरक्षण गर्न र पर्यटन विकासका लागि स्थानीय समुुदायमा विभिन्न सीप विकासका तालिम पनि सञ्चालन गर्दै आएको सङ्घका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो ।

सरकारले डाइक्लोफेनेक औषधिलाई २०६३ जेठ २३ देखि पशु उपचारका लागि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । औषधि ऐन, २०३५ बमोजिम यसको उल्लङ्घन गरेको पाइएमा तीन वर्ष कैद वा रु पाँच हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान छ ।

यसबाहेक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गिद्ध संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध संरक्षण तथा प्रजनन केन्द्रको स्थापना गरेको छ । त्यस्तै ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९–२०१३ को सफल कार्यान्वयनपश्चात् नयाँ पञ्चवर्षीय कार्ययोजना सन् २०१५–२०१९ लागू गरेको विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो ।

यस्ता रेस्टुरेन्टको स्थापनासँगै स्थानीय जनतामा आएको चेतनाले एकातिर पारिस्थितिकीय प्रणालीको एक प्रमुख हिस्सा गिद्धको संरक्षणमा योगदान पुगेको छ भने अर्कोतिर नयाँ पर्यटकीय आकर्षण केन्द्र बन्नाले स्थानीय जनताका लागि आयआर्जनको स्रोतसमेत बनेको छ ।