स्थानीय निकायको निर्वाचनसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन सदनमा पेस

काठमाडौँ, ११ माघ । स्थानीय निकायको निर्वाचनसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन सदनमा पेस भएको छ । 

राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले मतदाता नामावली विधेयक, २०७३ र निर्वाचन आयोग विधेयक, २०७३ समितिको प्रतिवेदनसहित व्यवजस्थापिका–संसद्को आजको बैठकमा पेस गर्नुभएको हो ।

संसद्ले गत असोज ३० गते ती दुई विधेयक दफाबार छलफलका लागि राज्य व्यवस्था समितिमा पठाएको थियो । समितिमा लामो छलफलपछि आवश्यक संशोधनसहित आज पुनः सदनमा पेस गरिएको सभापति घर्तीले जानकारी दिनुभयो ।

सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बेला आवश्यक विधेयक नै प्रस्तुत नभएको भन्दै सांसद्हरुले नै गुनासो गरिरहनुभएको बेला आज प्रस्तुत भएका दुई विधेयकले निर्वाचनका लागि मार्ग प्रशस्त गर्ने उहाँको भनाइ थियो ।

स्थानीय निकायको निर्वाचनका लागि विभिन्न सातवटा कानुनको आवश्यकता पर्दछ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही माघ १२ गते दिनको १४ः०० बजे बस्नेछ ।