चुनावको वातावरण बनाए एमालेले सहयोग गर्छः भट्टराई

काठमाडौँ । नेकपा एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेको भन्दै संविधान कार्यान्वयनका लागि बाधक नभएको स्पष्ट पारेका छन् । बिहीबार राजधानीमा आयोजित एक अन्तरक्रियामा उनले यस्तो बताउनु भएको छ ।
उहाँले संविधान संशोधन प्रस्ताव सुनियोजित ढंगले संसदमा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भैरहेको आरोप समेत लगाउनुभयो । उहाँले प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न गठन भएको हो भने वैशाखको अन्तिमसम्ममा स्थानीय तहको निर्वाचन गरेर देखाउन चुनौती पनि दिनुभयो । ‘आगामी ०७४ माघ ७ गतेभित्रै बाँकी निर्वाचनहरु गर्नुपर्ने जिम्मेवारी सरकारको काँधमा छ,’ उहाँले भन्नुयोे ‘सरकार चुनावी वातावरण निर्माण गरेर अघि बढ्छ भने एमाले सहयोग गर्न तयार छ ।’
सचिव भट्टराईले नेपाल–भारतबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै आधुनिक युगमा द्धिपक्षीय सम्बन्ध आपसी हितका आधारमा अघि बढ्ने बताउनुभयो । उहाँले एमालेले कुनै पनि मित्रराष्ट्रको संवेदनशीलतामाथि खेलवाड नगर्ने भन्दै नेपालमाथि पनि खेलवाड नगर्न सुझाव दिनुभयो । उहाँले भारतले नेपालको माईक्रो म्यानेजमेन्टबाट हात झिकेमात्रै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर हुने दाबी गर्नुभयो । ‘नेपालले त इतिहासमा कहिल्यै पनि उपनिवेश भोगेको छैन, भारतले त भोगेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले उहाँहरुलाई स्वतन्त्रता भन्ने कुरा राम्रोसँग थाहा छ ।’