सङ्क्रमणकाल अन्त्यका लागि संविधान कार्यान्वयन पहिलो आवश्यकता : ओली

maitrinews

वालिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको कार्यान्वयन गरी वर्तमान सङ्क्रमणकालको अन्त्य गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

वालिङ उद्योग वाणिज्य सङ्घ स्याङ्जाद्वारा आयोजित छैटौँ वालिङ महोत्सवको वालिङमा उदघाटन गर्दै अध्यक्ष ओलीले देश अहिले सङ्क्रमणकालमा रहेकाले यसको निकासका लागि पनि संविधानको कार्यान्वयन जरुरी रहेको बताउनुभयो ।

“सरकारले अहिले संविधानको कार्यान्वयनभन्दा पनि संविधान संशोधनको कुरा अगाडि सारिरहेको छ” अध्यक्ष ओलीले भन्नुभयो, “देशलाई निकास दिएर सङ्क्रमणकालबाट बचाउने नै हो भने छिटोभन्दा छिटो निर्वाचनमा जानुको विकल्प छैन ।”

राष्ट्रिय एकतालाई मजबुत बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले लोकतन्त्र छाडेर देश प्रतिगमनतर्फ नजाने तर लैजानका लागि भएका प्रयासहरु पनि असफल हुने दाबी गर्नुभयो ।

अहिलेको अवस्थामा राजनीतिक दलका नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशकाबारेमा सोच्नु आवश्यक रहेको बताउनुभयो ।

सोही कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले संविधान कार्यान्वयन भएन भने मुलुक दुर्घटनामा जाने बताउनुभयो । संविधानसभाबाट प्राप्त उपलब्धीको रक्षाका लागि पनि सबै दल एकै ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

आजदेखि सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।