जतिसुकै नारा तथा गफ दिएतापनि सरकारी सामुदायिक स्कुलले विद्यार्थी पाउन सकेन

काठमाडौ। जतिसुकै नारा तथा गफ दिएतापनि सरकारी सामुदायिक स्कुलहरुले स्तोरन्नति गर्न नसक्दा विद्यार्थी पाउन नसक्दा बन्द गर्नुपर्ने स्थितिमा आएको छ। अव्यवस्थित पठन पाठन तथा सरकारी काम कहिले जाला घाम जस्तो गरेर पठन–पाठन गर्ने सरकारी सामुदायिक स्कुलहरुको रबैयाको कारण काठमाडौ लगायत कतिपय जिल्लाका स्कुलमा विद्यार्थीहरुको अत्यन्त अभाव हुन थालेको छ।
सरकारी स्कुलहरुमा मध्यम बर्ग तथा हुनेखानेले पढाउन नै छाडिसकेको छ। गाँस काटेर भएपनि नीजि बोर्डिङ्ग स्कुल पढाउने होडबाजी नै चलेको पाइएको छ। नीजिको तुलनामा सरकारी सामुदायिक स्कुलहरुले जतिसुकै अत्यन्त राम्रो सुविधा तथा सहुलियत पाएतापनि मनस्थितिमा परिवर्तन भएको देखिदैन।
सरकारी स्कुलमा पढाउने शिक्षक शिक्षिकाहरु आफू सरकारी भएको कारण जस्तो शैलीमा पढाएपनि हुन्छ र जागिरे मनस्थितिका कारण स्तरबृद्धि नभएको तर्क शिक्षाविदहरुले गरेका छन्। यसैवीच राससका अनुसार तेह्रथुमको आङ्दिम–१ स्थित सिंहदेवी प्राविमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ। विद्यार्थी नभएपछि चालु शैक्षिक वर्षका पहिला चार महिना शिक्षकले विद्यार्थी पर्खिदैमा बिताएका छन्। कक्षा–३ सम्म पठनपाठन हुने सो विद्यालयमा गत शैक्षिक सत्रमा १७ जना विद्यार्थी थिए।
उता थोक्लुङ–७, कर्कलेको सिंहवाहिनी प्राविमा पनि विद्यार्थी सङ्ख्या शून्य जस्तै भएको छ। सदरमुकाम म्याङलुङ नजिकै हलिमेलामा रहेको जनता प्राविमा पनि यो वर्ष कोही पनि विद्यार्थी भर्ना हुन आएनन् । दुई वर्षअघि नै बन्द हुन लागेको विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरेपछि विद्यार्थी बढेका थिए। कक्षा–३ सम्म पढाइ हुने सो विद्यालयका ३५ बढी विद्यार्थी अहिले सदरमुकामका बोर्डिङमा पढ्छन् । लालीगुराँस नगरपालिका–३ को सिंहदेवी प्राविमा पनि यो शैक्षिक सत्रमा पाँच जना मात्रै विद्यार्थी भर्ना भएका छन् । यस्तै म्याङलुङको आदर्श प्रावि, ओख्रेको भारती प्रावि र तम्फुलाको जलकन्या प्राविमा पनि विद्यार्थी सङ्ख्या १० भन्दा कम छ।
प्रकाशन मिति–२०७३ साल माघ १७ गते सोमवार ।