सिमरा गोल्डकप माघ २० देखि , तयारी पूरा

सिमरा । मोफसलको प्रतिष्ठित फूटलव प्रतियोगिताकोरुपमा रहेको रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको सबै तयारी पूरा भएको छ । आयोजक नव जनजागृति युवा क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गरायो । यस क्षेत्रकै खेलकुद उत्सवको रुपमा रहेको प्रतियोगिता माघ २० गते सुरु हुदैछ ।
प्रतियोगितामा ए डिभिजनका पाच र मोफसलका पाच गरी १० टिमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष एवम् प्रतियोगिता मुल आयोजक कमिटिका संयोजक कासिम मियाले पत्रकार सम्मेलनमा जानकारी दिए । मियाका अनुसार प्रतियोगितामा ए डिभिजनका नेपाल आर्मीको त्रिभूवन क्लब, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, सिएमजी संकटा क्लब र सरस्वती युथ क्लब सहभागी हुनेछन् ।
यसैगरी मोफसलबाट साविक बिजेता बिजय युथ क्लब, साविक उपबिजेता वीरगन्ज युनाईटेड क्लब, पोखराको सहारा क्लब, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी हुने अध्यक्ष मियाले जानकारी दिए ।
यस बर्ष पुरस्कार राशीमा बृद्धि नगरेको आयोजकले उपाधी बिजेतालाई पाच लाख ५१ हजार नगद प्रदान गर्नेछ । उपबिजेताले भने दुई लाख ५१ हजार पाउनेछ । सातौं संस्करणसम्म मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता रहदै आएपनि आयोजकले यसपटक पुरस्कार राशी गतबर्षकै कायम राखेको हो । अध्यक्ष मियाले पुरस्कार राशी बृद्धि नगरेर खेल खेल्ने खेलाडीलाई दिईने प्रोत्साहन भत्तामा रकम बढाएको जानकारी दिए ।