दलित समस्या समाधान गर्न सरकार प्रतिबद्ध : प्रचण्ड

maitrinews

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दलित समुदायले भोग्दै आएको राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्या समाधानप्रति पूर्ण प्रतिबद्धताका साथ क्रियाशील भएको बताउनुभएको छ ।
राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा दलित अधिकार तथा सरकारको काम कारबाहीका विषयमा छलफल गर्दै प्रधानमन्त्रीले जात, वर्ण र लिङ्गका आधारमा गरिने विभेद र अन्याय सरकारका लागि सह्य हुँदैन भन्नुभयो ।

उहाँले दलित आयोगलाई संवैधानिक मान्यता प्राप्त हुनु ठूलो उपलब्धि भएको बताउँदै दलितहरुको विकास र समृद्धिका पक्षमा कार्य गर्दै आएको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिलाई अझ सक्रिय पारिने जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले लक्ष्मी परियार र अजित मिजारको हत्यामा संलग्नमाथि कारबाहीका लागि छानबिन प्रक्रिया अगाडि बढेको जानकारी दिँदै पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिइने बताउनुभयो ।
ती घटना छानबिनका लागि सरकारले युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको छ । समितिले दिने प्रतिवेदनका आधारमा सरकारले आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी प्रधानमन्त्रीले दिनुभएको नेकपा माओवादी केन्द्र संसदीय दलका सचेतक सीता नेपालीले जानकारी दिनुभयो ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तिलक परियारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परियार र मिजारका हत्यारामाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन तथा दलित विकास समिति खारेज नगर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा दलितमाथि भएको विभेद अन्त्यका लागि कडा कानुन बनाउन सुझाव दिइएको छ ।