क्यान इन्फोटेकमा तीन लाखद्वारा अवलोकन

काठमाडौ। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौको भृकुटीमण्डमा आयोजित २३ औँ संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१७’ को तीन लाख १० हजार ९८ जनाले अवलोकन गरेको आयोजकको दावी रहेको छ। यद्यपि, यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम हो।
अघिल्लो वर्ष तीन लाख ६३ हजारले अवलोकन गरेका थिए। यसवर्ष चार लाख पुग्ने आयोजकले विश्वास गरेतापनि पूरा हुन सकेन। महासङ्घले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९९५ देखि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्दै आएको छ। प्रदर्शनीको आज मंगलवार अन्तिम दिन पनि अवलोकनकताको उत्तिकै उत्साह र सहभागिता रह्यो ।
आज मात्रै ५५ हजार ७१३ जनाले मेलाको अवलोकन गरेका छन्। यसपटक सेलिब्रेटी, राजनीतिक दलका नेतृत्व, नीति निर्मातालगायत बालकदेखि वृद्धसम्मको बाक्लो उपस्थिति रहेकाले आम नेपालीमा सूचना प्रविधिको पहुँच विस्तार र नीति निर्माणमा योगदान पुग्ने आयोजकको विश्वास छ ।
प्रकाशन मिति–२०७३ साल माघ १८ गते मंगलवार ।