राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण

maitrinews

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान ११ः३५ बजेको शुभसाइतमा वसन्त श्रवण गरी टीका प्रसाद ग्रहण भयो ।

समारोहमा राष्ट्रपतिसमक्ष हुनमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो ।

नेपाली सेनाको टोलीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ठ व्यक्ति त्यहाँ पुगी वसन्त श्रवण गर्ने परम्परा रहिआएको छ ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गर्नुभयो ।

श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी उहाँका प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवान्को आराधना गरेको प्रसङ्ग उल्लेखित छ ।

वसन्त पञ्चमीको दिनबाट नयाँ ऋतुको सुरुवात हुने त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने विश्वास रहिआएको छ ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका राजपत्राङ्कित विशिष्ठ श्रेणी कर्मचारी र सुरक्षा निकायका प्रमुख पनि वसन्त श्रवणका लागि हनुमानढोका पुग्नुभएको थियो ।