प्रचण्डले देशभक्तहरुविरुद्ध वाईसीएल लगाए प्रतिकार गर्ने एमालेको चेतावनी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्तहरुविरुद्ध वाईसीएल लगाउने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सम्हालिएर अभिव्यक्ति दिन सुझाव दिनुभएको छ ।
देशलाई माया गरौं भन्दा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले वाइसीएल लगाएर प्रतिकार गर्ने धम्की दिन थालेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो,देशभक्तहरुविरुद्ध उत्रिन प्रधानमन्त्रीले उक्साउँदै हुनुहुन्छ, ‘मैले प्रधानमन्त्रीलाई आउन त भिडौं भनेर भनिहाल्न मिल्दैन तर, उहाँले बुझेर सम्हालिएर बोले हुने हो । देशभक्तहरुविरुद्ध वाईसीएल लगाए एमाले चुप लागेर बस्दैन ।

‘हामीले त वाइसीएललाई लुटेर नखाऊ भनेको हो तर, प्रधानमन्त्रीले प्रतिकारमा उत्रिन उक्साउँदै हुनुहुन्छ,’ ओलीले भन्नुभयो ।

नेकपा एमालेको तराई मधेस केन्द्रित अभियानबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले चुनाव नचाहेको बताउनुभयो । चुनावको सन्दर्भमा कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरु म कुटे जस्तो गर्छु, तँ रोय जस्तो गर् भन्ने ढंगबाट अघि बढेको भन्दै ओलीले भन्नुभयो, ‘उनीहरुको मिलेमतो छ, तमासा गरिरहेका छन् ।’

चुनावको घोषणा नगर्न मधेसी मोर्चाले सरकारलाई दबाव दिइरहेको र चुनावको मिति घोषणा गरे बाह्य शक्ति लगाइदिने धम्कीसमेत दिइरहेको दाबी ओलीले गर्नुभयो ।

अहिले सरकार आफै प्रतिपक्ष पनि हुन खोजिरहेको भन्दै ओलीले भन्नुभयो, ‘लेखा समितिको सभापति प्रतिपक्षलाई नदिनु भनेको त्यही संकेत हो ।’

सत्तारुढ दलहरु सरकारमा टिकिरहन जे पनि गर्न तयार रहेको बताउँदै ओलीले भन्नुभयो, ‘म सुन्दै छु ढुवानी खर्चको नाममा १ अर्ब ९४ करोड रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने बनाउँदै हुनुहन्छ । शासनमा टिक्न जे पनि गर्ने लम्पसारवादको सक्कली नमूना हो यो ।’

यसैबीच,एमालेले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान तथा संविधान कार्यान्वयनका लागि दुई हप्ते मेची महाकाली राष्ट्रिय अभियानको कार्यतालिका सार्वजनिक गरेको छ ।
नेपाली समाजमा विद्यमान जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र प्रादेशिक एकता कमजोर पारी राष्ट्रिय एकता र अखण्डतामा नै आँच आउने क्रियाकलाप रोक्न सो अभियान गर्न लागिएको हो ।
आगामी फागुन २१ गते सुखानीका सहिद दिवसका अवसरमा झापाको काँकडभिट्टाबाट शुभारम्भ हुने अभियान विभिन्न जिल्लामा र्याली, सभा र रचनात्मक कार्यक्रम गर्दै चैत ५ गते सुर्खेतमा जनसभा गरी सम्पन्न हुनेछ ।
एमालेले अभियानका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डलको स्थायी टोली निर्माण गरेको छ ।

अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता र समृद्धिका लागि अभियान गर्न लागिएको बताउँदै ‘हामीले कसैसँग निहुँ खोज्न वा सम्बन्ध बिगार्न यो अभियान सञ्चालन गर्न लागेको होइन, एमालेमाथि फैलाइएका भ्रम चिर्नका लागि यो अभियान सुरु गर्न लागिएको छ भन्नुभयो ।”