नयाँ संसद्ले मात्रै संविधान संशोधन गर्नसक्छः वरिष्ठ नेता खनाल

maitrinews

चितवन, २३ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तीन तहको निर्वाचन सम्पन्न गरेपछि बन्ने नयाँ संसद्ले मात्रै संविधान संशोधन गर्नसक्ने बताउनुभएको छ ।

नेकपा एमाले चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रस्तावित संविधान संशोधन विधेयक राष्ट्रको हितमा नभएको बताउनुभयो ।

वरिष्ठ नेता खनालले कुनै पनि हालतमा संविधान संशोधन विधेयक पारित हुन नदिने बताउँदै संविधान कार्यान्वयनतर्फ सबै दल लाग्नुको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो ।

आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्न नसके देशमा लोकतन्त्र, संविधान र राजनीतिक व्यवस्था नै सङ्कटमा पर्ने चर्चा गर्दै उहाँले देशको राष्ट्रिय एकता, स्वाभिमान र अखण्डतालाई कसैले कमजोर पार्न नहुने बताउनुभयो ।

वरिष्ठ नेता खनालले निर्वाचन र संविधान कार्यान्वयन गर्नेतर्फ वर्तमान सरकार उदासिन देखिएको बताउँदै आयु लम्ब्याउनेतर्फ मात्रै सरकार उद्धत रहेको आरोप लगाउनुभयो ।

हिन्दी भाषा कहिल्यै पनि नेपालको राष्ट्रिय भाषा हुन नसक्ने दावी गर्दै उहाँले यहाँका मौलिक भाषा मास्ने षड्यन्त्रस्वरुप हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजिएको छ भन्नुभयो ।

वरिष्ठ नेता खनालले एमालेको नीति, उद्देश्य र योजना नेपालको माटो सुहाउँदो भएको बताउँदै “अब देशलाई समृद्धितर्फ लैजानुपर्छ र त्यसको नेतृत्व एमालेले मात्रै गर्न सक्छ भन्नुभयो ।”

सो अवसरमा वरिष्ठ नेता खनालले एमाले पार्टीमा प्रवेश गर्नेहरुलाई अबिर र माला लगाई स्वागत गर्नुभयो ।