दुई महिनाभित्र प्रचण्ड सरकार ढल्ने निश्चित

डा. अजय क्रान्ति शाक्यबाट— काठमाडौँ । प्रचण्ड सरकार संविधान कार्यान्वयन गर्न,निर्वाचन गराउन र मुलुकको स्वाभिमान जोगाउन तीनै मोर्चामा असफल भएपछि यसको विकल्पको खोजी शुरु भएको छ । यो सरकारलाई निरन्तरता दिँदा तीन तहको निर्वाचन पनि हुन नसकी संवैधानिक संकट आउने र मुलुक दुर्घटनामा जानसक्ने निष्कर्षसहित अनौपचारिकरुपमा नेपाली काँग्रेस र नेकपा एमालेलेका विभिन्न तहका नेताहरु गहन गृहकार्यमा जुटेका छन् । गृहकार्यमा जुटेका एमालेका एकजना प्रभावशाली नेताका अनुसार अबको दुई महिनाभित्रै प्रचण्ड सरकार ढल्नेछ र काँग्रेस र एमालेको संयुक्त सरकार बनी मुलुकलाई दीर्घकालीन निकास दिनेछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छ महिनाअघि दक्षिणको ईशारामा ओली सरकार हटाई सत्तासिन हुनुभएको हो । राष्ट्रवादी काम गरेको, राष्ट्रिय अडानमा अडिग ओली सरकार दक्षिणको ईशारामा नचलेपछि विभिन्न प्रलोभन र दबाबमा पारी प्रचण्डलाई सत्तासिन गराई ओली सरकार विस्थापित गरियो । नाटकीय ढङ्गले प्रचण्ड सत्तासिन भएपछि मुलुक चरम संकटतिर उन्मुख भएको र उहाँ एकाएक दक्षिणतिर ढल्किनुभएको भन्दै स्वयं उहाँको पार्टी माओवादी केन्द्रभित्रसमेत चर्को आलोचना भइरहेका बेला यो सरकारको भरपर्दो विकल्पको खोजी भएको हो । माओवादीका केही नेताहरुले समेत एमालेलाई नयाँ सरकार बनाउन सहयोग गर्ने बचन दिएका छन् । फेरि सम्भव भए एमाले र मोआवादीको नयाँ सरकार बनाउने कि भन्ने सम्बन्धमा पनि छलफल भएको तर अहिले मुलुकलाई सही निकास दिन त्यो भरपर्दो विकल्प हुन नसक्ने भन्दै काँग्रेस र एमाले नै मिलेर बनाएको सरकारले सबैखाले चुनौती सामना गर्न सक्ने र मुलुकलाई सही बाटोमा लैजाने निष्कर्ष निकालिएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड गतिविधिले काँग्रेसलाई समेट अप्ठेरोमा पारेको भन्दै दक्षिणतिरको दबाब र प्रभावलाई प्रचण्डले थेग्न नसक्दा मधेशको समस्या झन् जटिल बन्ने साथै निवार्चन हुन नसकी मुलुक झन् अन्योलतिर धकेलिने सम्भावनाले काँग्रेसका धेरै नेताहरुलाई चिन्तित बनाएको छ । माओवादीसँगको गठबन्धन सरकार धेरै काँग्रेस नेता तथा कार्यकर्तालाई पटक्कै मन परेको छैन । काँग्रेस र एमालेको सरकार बनाउनुपर्ने उनीहरुको माग छ ।
सरकारमा गएका काँग्रेसका मन्त्रीहरुसमेत प्रचण्डका कारण अप्ठेरोमा परेको, देश र जनताको पक्षमा काम गर्न नसकेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् भने राप्रपाले सरकारमा आफ्नो कुनै भूमिका नभएको र प्रचण्डले गरेका देश र जनताविरोधी कामको साक्षी बस्न नसक्ने भन्दै आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने तयारी गरेको छ ।
प्रचण्डले न आफ्नो पार्टी न काँग्रेस, राप्रपा ,मधेशी मोर्चा नत प्रमुख प्रतिपक्षी नेकपा एमाले कसैलाई पनि चित्त बुझ्दो काम गर्न नसकेको र उहाँको नियत नै दक्षिणको आशीर्वादमा सत्तामा टिकीरहने र मुलुकलाई तहसनहस पार्ने देखिएकाले यो सरकार विस्थापित गरी मुलुकलाई दीर्घकालीन निकास र स्थायित्व दिने नयाँ सरकार नै अहिले आम नेपाली जनताको चाहना भएको छ । यो सरकार टिकाउनु भनेको नेपाललाई नै टुक्राउने चलखेललाई नै मलजल गर्नु हुने भएकाले प्रचण्ड सरकारको विकल्प खोजिएको छ । राष्ट्रघात र जनघात गर्ने सरकारले मुलुकलाई निकास दिन सक्दैन ।
प्रचण्ड सरकारलाई सत्ता टिकाउनेबाहेक अरु चिन्ता देखिएन् । आगामी माघभित्र स्थानीय,प्रदेश र केन्द्र तीनैवटा निर्वाचन गर्नैपर्ने संवैधानिक वाध्यता छ । प्रचण्ड निर्वाचन गराउने भन्दै काँग्रेस,एमालेसित कुरामात्र गर्नुहुन्छ तर मधेसी मोर्चाले नमानेको भन्दै निर्वाचनको मितिसमेत घोषणा गर्न सक्नुहुन्न । अब त उहाँले निर्वाचनको मिति घोषणा गरे पनि निर्वाचन गराउन सक्नुहुन्न । त्यसैले पनि प्रचण्ड सरकार हटाई तत्काल काँग्रेस र एमाले मिलेर नयाँ सरकार बनाई मुुलुकलाई निकास दिनु नै सर्वोत्तम विकल्प भएको हुनाले अबका दुई महिनाभित्र काँग्रेस — एमालेको संयुक्त सरकार बन्ने निश्चित भएको छ ।