अर्कैसित प्रेम गरेको भन्दै एसिड प्रहार गरी प्रेमिकाको हत्या
रुपन्देही । बुटवलमा एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ । नवलपरासी गैंडाकोट—५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
धादिङ नौबिसे—१ बस्ने २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट—५ की २७ वर्षीया तुलसा सापकोटा आइतबार बुटवल—६ स्थित मेरिडियन होटलमा बसेका थिए । सुनिल र तुलसा केही समयदेखि प्रेम सम्वन्धमा थिए ।
तर, तुलसाले आफूलाई छाडेर अकैलाई रोजेको भन्दै सुनिलले मध्यरातमा एसिड हाने ।
युवतीले सहयोग मागेपछि होटलका स्टाफहरुले सबै ढोका बन्द गरेर युवकलाई पक्राउ गरेका थिए । र, उनलाई प्रहरीको जिम्मा लगाइएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीका अनुसार युवकले एसिड हानेको स्वीकार गरेका छन् । आफूहरु केही वर्षदेखि प्रेममा रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको उनको बयान छ ।