पर्यटन विश्वविद्यालयको माग

maitrinews

काठमाडौ। पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालय बनाउन सरोकार भएकाहरुले माग गरेका छन्। समृद्ध नेपाल निर्माण अभियानले सोमवार आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले आर्थिक समृद्धिको महत्वपूर्ण आधार मानिने पर्यटनमा दक्ष र पर्याप्त जनशक्तिका लागि पर्यटन विश्वविद्यालय बनाउन सरकारको ध्यानाकर्षण गरेका छन्।

Tourishm University

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पर्यटनलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न पर्यटन विश्वविद्यालय आवश्यक छ भन्दै यसका लागि आफ्नातर्फबाट पहल गरिने भनेका छन्। मन्त्री पाण्डेले मुलुकको अर्थतन्त्रको बलियो आधार पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारी आवश्यक भएको पनि उल्लेख गरेका छन् ।

सांसद छाया पन्त, कमला विश्वकर्मा, डिबी नेपालीलगायतले प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले भरिपूर्ण नेपालको पर्यटनको विकासका लागि प्रभावकारी कार्यक्रम ल्याइनुपर्नेमा बताउँदै नेपालको पर्यटन क्षेत्रलाई गतिशील बनाउन पर्यटन विश्वविद्यालयको आवश्यकता रहेकाले आवश्यक पहल गरिने बताए। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लोलुफेरा पदमार्गलाई प्रवद्र्धन गर्न सके मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा राखे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मुलुकको पर्यटन क्षेत्रलाई प्रभावकारी रुपमा अघि बढाउन छुट्टै पर्यटन विश्वविद्यालय आवश्यक भएको बताउँदै प्रचुर सम्भावना भएका नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनार्थ बोर्ड लागि परेको जानकारी दिए । अभियानकर्मी कृष्ण केसीले देशका ७५ वटै जिल्लामा एक÷एक नमुनास्थललाई पर्यटकीय गन्तव्य बनाउन आवश्यक बजेटको व्यवस्था मिलाउन सरकारसमक्ष माग गरे। रासस

प्रकाशन मिति–२०७३ साल माघ २४ गते सोमवार ।