बाघको आक्रमणवाट चारजना सुरक्षाकर्मीसहित १० जना गंभीर घाइते–बाघलाई गोली हानेर मारियो

वीरगन्ज। पर्सा वन्यजन्तु आरक्षबाट निस्केर बस्ती क्षेत्रमा प्रवेश गरेको बाघले आक्रमण गर्दा मंगलबार पर्सामा चारजना सुरक्षाकर्मीसहित १० जना गंभीर घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर बनेको छ।
घाइतेहरुलाई थप उपचारका लागि काठमाडौ लगिएको छ । पर्साको रामनगरी र लखनपुर गाविसको बीचमा पर्ने खेतमा काम गरिरहेका सर्वसाधारणमाथि बाघले एक्कासी आक्रमण गरेको प्रहरीले भनेको छ । घटनाको लगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चक्रबहादुर शाहसहित चारजना सुरक्षाकर्मी पनि बाघको आक्रमण परी घाइते बनेका हुन्।
बाघको आक्रमणमा परी घाइते भएका अरु सर्वसाधारणको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । मानवबस्तीमा पसेर आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरीले गोली चलाउंदा गोली लागेर बाघ मृत्यु भएको छ ।
मरेको बाघलाई वीरगन्जस्थित जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ । बाघलाई नियन्त्रणमा लिन जिल्ला वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र राष्ट्रिय वनजन्तु आरक्षकको टोली परिचालित भएको थियो ।
प्रकाशन मिति–२०७३ साल माघ २५ गते मंगलवार ।