मनिषा कोइराला अव सञ्जय दत्तकी आमा
काठमाडौ। बलिउडका प्रसिद्ध अभिनेता सञ्जय दत्तको जीवनीमा फिल्म बन्ने भएको छ। यस फिल्ममा अभिनेता रणवीर कपुर सञ्जय दत्तको भूमिकामा देखिने भएका छन्।
सञ्जय दत्त जस्तो बन्नका लागि अभिनेता कपुरले आफ्नो शरीरलाई सञ्जय दत्तको जस्तो ज्यान बनाउने कार्यमा हाल व्यस्त बन्न थालेका छन्।
भारतीय समाचार माध्यमहरुका अनुसार सञ्जय दत्तकी आमाको भूमिकामा नेपाली अभिनेत्री मनिषा कोइरालाले अभिनय गर्ने भएकी छन्। बलिउडका कुनैबेलाका बादशाह हिरो सुनिल दत्तकी धर्मपत्नी तथा सञ्जय दत्तकी आमा नर्गिस दत्तको सन् १९८१ सालमा क्यान्सरको कारण दुःखद निधन भएको थियो।
मनिषा कोइराला पनि क्यान्सरवाट पीडित बनेर क्यान्सर मुक्त जीवन बाँचिरहेकी भएकोले नर्गिसको भूमिकामा अझ न्याय गर्ने भारतीय समाचार माध्यमहरुको दावी रहेको छ। सञ्जय दत्तसंग दर्जनौ फिल्महरुमा एकसाथ काम गरिसकेकी मनिषा कोइराला सञ्जय दत्तकै जीवनीमा बन्ने फिल्ममा उनकै आमाको भूमिकामा अभिनय गर्ने अवसर आउंदा अत्यन्त खुशी बनेकी छन्।
मनिषा कोइरालाले सञ्जय दत्तसँग कारतुस, यलगार, सनम, अचानक र बागी जस्ता फिल्महरुमा काम गरेकी छन्।
प्रकाशन मिति–२०७३ साल माघ २७ गते विहीवार ।