संविधान संशोधनमा एमालेलाई फकाउने प्रचण्डको प्रयास विफल, तत्काल निर्वाचनको मिति घोषणा गर्न ओलीको आग्रह

maitrinews

 

ललितपुर । संविधान संशोधनमा एमालेलाई मनाउने माओवादी प्रयास विफल भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संविधान संशोधनका विषयमा वार्ता भए पनि एमालेलाई फकाउने प्रयास विफल भएको हो । माओवादी नेता नारायणकाजी श्रेष्ठको पहलमा दुई नेताबीच श्रेष्ठ निवास ललितपुरमा आज करीव एक घण्टा छलफल भएको हो ।

उपाध्यक्ष भीम रावलसहित नारायणकाजी निवास पुगेका ओलीले प्रचण्डलाई तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गरेर जनतालाई चुनाव हुन्छ भन्ने विश्वास दिलाउन आग्रह गर्नुभयो । प्रचण्डले भने चुनाव गराउने नै हो भन्दै त्यसअघि संविधान संशोधन टुंग्याउदा मधेशमा सहज वातावरण हुने भन्दै संविधान संशोधनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

ओलीसँगै वार्तामा सहभागी रहेका एमाले उपाध्यक्ष रावलले बोलेर होइन मिति तोकेर व्यवहारमै चुनावप्रतिको इमान्दारिता देखाउन प्रचण्डलाई आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधनको कुरा उठाएर विषयान्तर नगर्नुस्, चुनावको मिति तोकिहाल्नुस् भन्यौं ।’

छलफल मुख्यतः निर्वाचनकै विषयमा केन्द्रित रहेको तर, प्रधानमन्त्रीबाट प्रष्ट प्रतिबद्धता नआएको रावलले बताउनुभयो । ।
मधेसी मोर्चाले संविधान संशोधनअघि चुनावको मिति घोषणा नगर्न दबाव दिएको छ भने एमालेले चुनावको मिति तत्कालघोषणा गर्न आग्रह गर्दै आएको छ ।