प्रजातन्त्र दिवसलाई महत्व दिन सञ्चारमन्त्रीको आग्रह
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रजातन्त्र दिवसको महत्व र यसको प्रभाव के हो ? भन्ने विषयलाई आमसञ्चार माध्यमले जनतासमक्ष बढी सुसूचित गर्नुपर्ने बताउनुभएको छ ।
६७ औँ प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाउने सन्दर्भमा आज सञ्चारमाध्यमका प्रतिनिधिसँगको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री कार्की संयोजक रहनुभएको उप–समितिको मन्त्रालयमा भएको छलफलमा उहाँले खास गरी नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र गोरखापत्रलगायत सरकारी मातहतका सञ्चार माध्यमबाट प्रजातन्त्रसँग सम्बन्धी सामग्रीलाई विशेष प्राथमिकताका साथ प्रकाशन÷प्रसारण गर्न निर्देशन दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा गठित मूलसमारोह समितिका सदस्य रहनुभएका सूचना तथा सञ्चारमन्त्रीको संयोजकत्वमा प्रचारप्रसार उप–समिति गठन गरिएको छ ।
“विशेषगरी टेलिभिजन र अन्य सञ्चार माध्यमले समेत प्रजातन्त्र स्थापना, प्रजातन्त्र पहिले र अहिले र त्यसका उपलब्धि लगायतका विषयलाई समेटेर बहस सञ्चालन गर्न, विभिन्न लेख–आलेख प्रकाशन गर्न आवश्यक छ”–सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो ।
हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारीले प्रजातन्त्रलाई लक्षित गरेर विभागले नेपालको संविधान २०७२ अङ्कित हुलाक टिकटमा टाँचा लगाउने कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो ।
राससका अध्यक्ष कुलचन्द्र वाग्ले र गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द्र पोखरेललगायतले आफ्नो संस्थाले प्रजातन्त्रबारे विगतका वर्षमा विभिन्न सागम्री सम्प्रेषण गर्दै आएको र यस पटक पनि प्रजातन्त्र दिवसको महत्वलाई विशेष प्राथमिकताका साथ सम्प्रेषण गर्ने बताउनुभयो ।
मूलसमारोह समितिले नेपाल टेलिभिजन र रेडियो नेपाललाई नेपाली सैनिक मञ्चमा हुने कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउन, प्रजातन्त्रबारे समाचार बुलेटिन तथा समाचारमूलक कार्यक्रम, अन्तवार्ता प्रसारण गर्ने जिम्मेवारी दिएको छ । ६७ औँ प्रजातन्त्र दिवस यही फागुन ७ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।