राप्रपा महाधिवेशनको तयारीमा, राजतन्त्र फर्काउने प्रस्ताव तयार

maitrinews

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन यही फागुन ६ गतेदेखि राजधानीमा हुँदैछ । दुई पार्टी मिलेर बनेको एकीकृत राप्रपाले संवैधानिक राजतन्त्र फर्काउने निर्णय गर्दै महाधिवेशनमा जुटेको छ ।

उसले हिंसात्मक विद्रोहबाट नभई कांग्रेस, एमाले र माओवादीजस्ता परिवर्तनका पक्षधरलाई समेत चित्त बुझाएर राजतन्त्र फर्काउने नीति अगाडि सारेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महाधिवेशनका लागि तयार पारेको राजनीतिक दस्तावेजमा संवैधानिकरुपमा राष्ट्रिय एकता एवं सांस्कृतिक एकताका प्रतीकका रुपमा राजसंस्था राख्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । । थापाको यो प्रतिवेदनलाई सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा पारित गरेको छ ।
महाधिवेशनमा पेश हुने राजनीतिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्न राजधानीमा आइतबार र सोमबार दुई दिन राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको थियो । बैठकमा अध्यक्ष थापाले ‘राप्रपाको सिद्धान्त, नीति एवं भावी कार्यदिशासम्बन्धी कार्यपत्र’ शीर्षकमा १३ पृष्ठ लामो प्रतिवेदन पेश गर्नुभएको थियो । ।

अध्यक्ष थापाको प्रतिवेदनमा ‘राजसंस्था’ उपशीर्षकमा बेग्लै चर्चा गरिएको छ । जसमा भनिएको छ, ‘राष्ट्रिय एकता सम्बर्द्धन गर्ने लक्ष्यका लागि राष्ट्रियतासँग सकारात्मक रुपमा जोडिएका संस्थाहरुको उपयोग गर्नु जरुरी हुन्छ । यस परिप्रेक्ष्यमा राजसंस्था नेपालमा शान्ति स्थायित्व र विकासका लागि आवश्यक छ भन्ने राप्रपाको धारणा रहेको छ ।’

तर, अब स्थापना हुने राजसंस्था संसदको मातहतमा रहने राप्रपाले स्पष्ट पारेको छ । थापाले प्रतिवेदनमा लेखेका छन्( ‘सार्वभौम सत्ता जनतामा निहित रहने, देशको शासन जनताबाट निर्वाचित प्रतिनिधिहरुले गर्ने तथा संसदको परिधि र नियन्त्रण अन्तरगत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकको रुपमा राजसंस्था रहनेछ ।’
यसैबीच,राप्रपाले महाधिवेशनका लागि तीनहजार ३१५ प्रतिनिधि छनोट गरेको छ । पार्टीको स्थानीय तहदेखि गरिएको प्रतिनिधि छनोटका क्रममा देशभरबाट सो सङ्ख्यामा प्रतिनिधि छनोट भएका हुन् ।
काठमाडौँको भृकुटीमण्डपमा यही फागुन ६ गतेदेखि ९ गतेसम्म हुने महाधिवेशनका लागि करिब ३०० पर्यवेक्षक सहभागी हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीलाई धेरै लोकतान्त्रिक बनाउनका लागि शीर्ष नेताले पनि वडा, गाउँ, नगर, क्षेत्र, जिल्लाबाट प्रतिनिधिका रुपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको थियो ।

तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएको तीन महिनाभित्र एकता महाधिवेशन गर्न लागिएको छ । दुबै पार्टी एकीकरण अगाडि नै मुलुकलाई हिन्दू राष्ट्र कायम गराउनका लागि सहमत भइसकेका थिए ।

राजतन्त्रको बारेमा महाधिवेशनबाट निर्णय लिने भनिएको भएपनि पार्टीको आन्तरिक बैठकमा संवैधानिक राजतन्त्र कायम गर्ने समझदारी बनिसकेको छ । सङ्घीयतालाई जनमतका आधारमा टुङ्गो लगाउनेबारेमा छलफल भइरहेको छ ।

निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाको संयोजकत्वमा मूलसमारोह समिति गठन भइसकेको छ । उक्त समिति अन्तर्गत विभिन्न ११ उपसमिति समेत गठन भई तोकिएको जिम्मेवारीअनुसार काम भइरहेको जनाइएको छ ।